आइतवार, आषाढ ३ २०८०
नेपाल वाइड
खोटाङ, ३ असार । वैदेसिक रोजगार सम्वन्धी सचेतना फैलाउनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘गन्धर्व गीति यात्रा’ सुरु गरिएको छ । गीत संगीतका माध्यमबाट वैदेसिक रोजगार सम्वन्धी सचेतनामुलक सन्देश फैलाउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षित आप्रवास (सामी) कार्यक्रम अन्तरगत ‘गन्धर्व गीति यात्रा’ सुरु गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सञ्चालन गर्नेगरी जेठ २९ गते दिक्तेललबाट ‘गन्धर्व गीति यात्रा’ सुरु गरिएको हो । हालसम्म नुनथला, जालपा, बिजयखर्क, बुईपा, बाम्राङ, लफ्याङ र खाल्लेमा ‘गन्धर्व गीति यात्रा’ गरिसकिएको सुरक्षित आप्रवास (सामी)का खोटाङ संयोजक ओजोनबाबु आचार्यले बताए ।
सोमबार नेर्पा र सोल्मामा ‘गन्धर्व गीति यात्रा’ हुँदैछ । ‘गन्धर्व गीति यात्रा’का लागि भोजपुर जरायोटारका तेजिन्द्र गन्धर्व र हिमाल गन्धर्वलाई बोलाइएको छ । गीति यात्राका क्रममा गन्धर्वले साराङ्गी बजाएर सन्देशमुलक गीत गाएर सुनाउने गरेका छन् ।

छिटो कण्ठ हुने, याद भइरहने र एकै पटकमा धेरै मासमा सुचना पुर्याउन सकिने भएकाले बैदेसिक रोजगार सम्वन्धी सुचना प्रवाह गर्न नयाँ शैली अपनाइएको संयोजक आचार्यले बताए ।
गन्धर्व यात्राका क्रममा एक ठाउँमा ‘स्वदेशमै रोजगारी गरौं, विदेश जाने हो भने बुझेर सीप सिकेर मात्र जाऔं, वैदेसिक रोजगारीमा संलग्न परिवारलाई हिंसा, आरोप र लाञ्छना नलगाऔं, विदेशमा कमाएको पैसालाई सदुपयोग गरौं’ लगायतका सन्देश बोकेको बढीमा सात वटा गीत सुनाउने व्यवस्था मिलाइएको छ ।
वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, हाटबजारजस्ता भिडभाड हुने क्षेत्रमा ‘गन्धर्व गीति यात्रा’ कार्यक्रमको आयोजना गर्ने गरिएको छ । ‘वैदेसिक रोजगार सम्वन्धी सचेतना फैलाउन भेला गरिए, ओरिन्टेसन गरिए । तर अपेक्षित मासमा सन्देश पुग्न सकेन,’
आचार्यले भने, ‘गीतमा जो केही आकर्षित हुन्छन् । कण्ठ गर्न सहज हुन्छ । त्यही भएर सन्देश प्रवाह गर्न नयाँ शैली अपनाइएको हो ।’ गन्धर्व यात्राका लागि सामीको टिमले सन्देशमुलक गीत तयार पारेका छन् । स्थानीयको भेलाका लागि वडा कार्यालय र सामीका कर्मचारीले समन्वय गर्ने गरेका छन् ।