बुधवार, जेठ २४ २०८०
नेपाल वाइड
विराटनगर, २४ जेठ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यालयले कोशी प्रदेशसभा अधिवेशन स्थगनको बिरोध गरेको छ । अल्पमतमा परेको कोशी प्रदेश सरकारले राजीनामा दिनुको सट्टा जेठ २३ गतेदेखि अर्को सुचना जारी नभएसम्मका लागि प्रदेश सभाको अधिवेशन स्थगन गरेको भन्दै कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यालयले विरोध जनाएको हो ।
प्रमुख सचेतक भुपेन्द्र राईले बुधबार विज्ञाप्ती जारी गर्दै प्रदेश सभालाई बन्धक बनाउन प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेशमार्फत ल्याउनका लागि प्रदेशसभा अधिवेशन स्थगन गरिएको भन्दै भत्र्सना गरेका छन् ।
कांग्रेस संसदीय दलले अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर आगामी सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । “अर्को सुचना जारी नभएसम्मका लागि प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैर–जिम्मेवार र प्रदेशमा झन समस्या थप्नतिर उद्धत भएको स्पस्ट हुन्छ,” विज्ञाप्तीमा भनिएको छ,
“नागरिकका आवाज बोल्ने संसद जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेश मार्फत ल्याउनका लागि गरिएको यो गलत कदमप्रति घोर भत्र्सना गर्दछ ।”
प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन चालु रहेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको प्रदेश सरकार अलपमतमा परेको छ ।