Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु

    म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु


    • मंगलवार, जेठ २३ २०८०

    • नेपाल वाइड


    म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु
    खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट । तस्बीर: दमन राई

    खोटाङ, २३ जेठ । म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ ।

    ३३ महिने म्याद सकिन लाग्दा एम/एस कालिका–बेदांसी जेभी, काठमाडौंले बंशिलाघाटमा जेठ १९ गतेदेखि पक्की पुल निर्माण सुरु गरेको हो । ठेकेदारले आगामी २०८० असोजसम्म म्याद रहेको पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए ।

    प्रदेश सांसद भुपेन्द्र राईको निरन्तरको खबरदारीपछि ठेकेदार मेसिन लिएर बंशिलाघाट पुगेका छन् । बंशिलाघाटमा केही दिनदेखि ठेकेदारले पुलको काम सुरु गरेको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए ।

    एम/एस कालिका–बेदांसी जेभीले ३३ महिनामा भ्याट र पिएस सहित १९ करोड १८ लाख ४१ हजार चार सयमा सक्नेगरी २०७७ पुस २८ गते पुलको ठेक्का सम्झौता गरेको थियो ।

    Bansila ghat.jpg

    तत्कालिन परराष्ट्र मन्त्री डा. नारायण खड्काले २०७९ पुस १ गते शिल्यान्यास गरेको पुलको काम हालसम्म ठप्प बनाइएको थियो । पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ ।

    पुलको पेटी ठेक्का लिएर सम्पर्कविहिन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो । तर पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मेन ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेशसभा सदस्य राईले बताए ।

    “निरन्तरको दबाब पश्चात बंशिलाघाटको पुल निर्माण शुरु भएको छ,” राईले सामाजिक सञ्जालमा लेखेका छन्, “अब हेरौं, कसरी ढिला सुस्ती हुँदोरहेछ ! काम नगर्नेलाई काम पुर्‍याउन हामीलाई राम्रैसँग आउँछ ।”

    बंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोसी वारपार गर्ने व्यवस्था छ । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनेपनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

     

    सम्बन्धित समाचार