सोमवार, जेठ २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ जेठ । खोटाङको खोटेहाङ गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको छ । गाउँपालिकाको समन्वय एवं नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ गाउँ कार्य समितिको आयोजनामा आइतबार खोटाङबजारमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको हो ।
‘जातीय भेदभाव तथा छुवाछुत अनत्या गरौं, सभ्य समाज निर्माण गरौं’ भन्ने नारा सहित मनाइएको दिवसमा सहभागीले दलित समुदायले भोगी रहेको जातीय विभेद तथा पीडाको बारेमा चर्चा गरिएको छ ।
सहभागीले प्रत्यक्ष नदेखिए पनि अप्रत्यक्ष रुपमा पाईला–पाईलामा जातीय विभेद भइरहेको उल्लेख गरेका छन् । राष्ट्रिय दलित समाज कल्याण संघका सल्लाहकार सदस्य एसबी सेञ्चुरीले दलितको समस्या र समाधानका लागि बजेट तथा बिनाबजेट गर्न सकिने जातीय विभेद विरुद्धका कार्यक्रमका बारेमा चर्चा गरेका छन् ।
कार्यक्रममा कविता लेखेर ल्याउने भाषा स्कुलका दिल्पना नेपाली र दिलीप बिकलाई जनही पाँच सय प्रदान गरिएको छ । कार्यक्रम अघि खोटाङबजारमा र्याली निकालिएको थियो ।
खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई प्रमुख अतिथि एबं प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई विशेष अतिथि रहेको कार्यक्रममा वडाध्यक्ष तिलक बस्नेत, शिवप्रसाद फुयाँल, एमाले नेता राजन बञ्जरा, कांग्रेसका गाउँपालिका कमिटि सचिव लोकराज ढकाल, एमाले गाउँपालिका कमिटि सचिव अम्बर बस्नेत, माओवादी केन्द्रका प्रतिनिधि इन्द्र नारथुंगे लगायतको उपस्थिति रहेको थियो ।
