Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विकासमा श्रमदान जोड्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    विकासमा श्रमदान जोड्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका


    • शनिवार, जेठ २० २०८०

    • नेपाल वाइड


    विकासमा श्रमदान जोड्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
    श्रमदानमा जुटदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, जनप्रतिनिधिहरुलगात ।

    खोटाङ, २० जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकामा ‘जनश्रम संस्कृति’को विकास गर्नेगरी श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिक महत्वका स्थल मर्मत तथा सरसफाई सुरु गरेको हो ।

    वर्षा याममा अवरुद्ध हुने सडकलाई बार्‍हैमास सञ्चालनमा ल्याउनेगरी श्रमदानमार्फत मर्मत सम्भार सुरु गरिएको हो । धरानका मेयर हर्क साम्पाङकै शैलीमा जेठ १३ गतेदेखि स्थानीयको सहभागीतामा दिक्तेल–खार्मी–पाथेका सडक मर्मत तथा सरसफाई सुरु गरिएको छ ।

    सडकमा झरेको पहिरो पन्छाउने, खाल्डाखुल्डी पुर्ने, नाली कटाउने, झाडी सफा गर्ने लगायतका काम भइरहेको छ । श्रमदानका क्रममा बगरेभञ्ज्याङबाट ट्याक्टरमा ओसारिएको रोडा थुपारेर सडकको खाल्डाखुल्डी सम्याउने व्यवस्था मिलाइएको छ ।

    दिक्तेल–खार्मी–पाथेका सडकपछि दिक्तेलकै मानव अधिकार चोक–माटिकोरे सडक मर्मत गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    नागरिकको श्रम सहभागीताबिना विकास सफल नहुने निष्कर्ष सहित नगरपालिकामा श्रमदान अभियान थालिएको हो । १५ वडा रहेको नगरपालिकामा सम्वन्धित ठाउँका स्थानीयबाट श्रमदान जुटाएर क्रमशः नगरका अन्य सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई गर्ने योजना बनाइएको छ । श्रमदान सकिएपछि श्रमदानका क्रममा जुटेको सहयोग र भएको खर्चको विवरण सार्वजनिक गरिने मेयर भट्टराईले बताए ।

    “हामी अल्छे हुँदै गयौं । श्रम गर्ने संस्कृति हराएर गयो । तर नागरिक सहभागी नभएसम्म विकास सम्भव छैन भन्ने सिकाई भयो,” भट्टराईले भने, “अव जनश्रम संस्कृतिलाई ब्युँताउनुपर्छ । विकासमा साझेदारी गर्नुपर्छ । श्रम संस्कृतिलाई नजोडिएसम्म विकास सम्भव छैन ।”

    सानातिना विकास निर्माण सम्वन्धी योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई न्युनीकरण गर्दै ‘आफ्नो विकास आफैबाट’ भन्ने मान्यतालाई कार्यान्वयन गर्न नगरपालिकामा श्रमदान अभियान अघि बढाइएको हो ।

    पछिल्लो समय निम्तिएको आर्थिकमन्दीका कारण सानातिना योजनाकालागि बजेट विनियोजन गर्ने अवस्था नहुँदा बिना बजेट श्रमदानमार्फत सडक मर्मत तथा सरसफाई अभियान सुरु गरिएको उपमेयर बिसन राईले बताए ।

    श्रमदान अभियानमा स्थानीयबासीदेखि टोल विकास समिति, वडा कार्यालय, खोटाङ यातायात प्रालि, ट्याक्टर तथा ट्रिफर व्यवसायी संघ, अटो व्यवसायी संघ लगायतको सहयोग जुटेको छ ।

    नगरपालिकाको जेसीबी र व्यवसायीले उपलव्ध गराएको ट्याक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले सडकको खाल्डाखुल्डीमा हाल्ने गरेका छन् । कुटो, कोदालो, गैंती, साबेल, झम्पल, ह्याम्मर बोकेर श्रमदानमा पुगेकालाई स्थानीयले खाना, खाजा, जुस खुवाइरहेका छन् । श्रमदान सकिएपछि प्राविधिक मूल्यांकन गरिने नगरपालिकाले जनाएको छ । कतिपयले भने श्रमदानले निरन्तरता पाउनेमा आशंका गरिरहेका छन् ।

    fgfgggg.jpg

    ss.jpg

    fggfds.jpg

    sdssdf.jpg

    123.jpg
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको श्रमदान अभियानका तस्बिरहरु ।

    सम्बन्धित समाचार