Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जयरामघाट–हलेसी सडकः मध्यपहाडीको मापदण्ड अनुसार बनेन

    जयरामघाट–हलेसी सडकः मध्यपहाडीको मापदण्ड अनुसार बनेन


    • बिहिवार, जेठ १८ २०८०

    • नेपाल वाइड


    जयरामघाट–हलेसी सडकः मध्यपहाडीको मापदण्ड अनुसार बनेन
    मध्यपहाडी राजमार्ग अन्तरगत खोटाङको जयरामघाट–हलेसी सडक खण्ड । तस्बीरः दमन राई

    खोटाङ, १८ जेठ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत खोटाङको जयरामघाट–हलेसी (३५ किलोमिटर) सडक खण्डलाई मध्यपहाडीको मापदण्ड अनुसार फराकिलो बनाइएको छैन । मध्यपहाडी राजमार्गको ‘एलाइनमेन्ट’मा पर्ने भए पनि जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्ड अनुसार चौडा गर्न ढिलाइ गरिएको हो ।

    मध्यपहाडीको अन्य खण्डको चौंडाई कम्तीमा नौ मिटर छ तर जयरामघाट–हलेसी सडक खण्डको चौंडाई साँढे चारदेखि पाँच मिटर मात्र छ । मध्यपहाडी लोकमार्ग आयोजनाभन्दा अघि नै बनेको हिलेपानीदेखि जयराम–हलेसी खण्डलाई मध्यपहाडीको मापदण्ड अनुसार स्तरोन्नती गर्न हालसम्म राज्यको ध्यान जान सकेको छैन ।

    जयराम–हलेसी सडकमा २०६५ देखि २०६७ सालबीचमा ओटासिल पिच गरिएको थियो । आर्थिक वर्ष २०६९/०७० देखि मध्यपहाडी राजमार्ग आयोजनाको काम सुरु गर्दा जयराम–हलेसी सडकलाई छाडेर अन्य खण्डमा मात्र स्तरोन्नतीको काम गरिएको थियो ।

    सोही कारण हालसम्म जयराम–हलेसी सडक मध्यपहाडीको मापदण्ड अनुसार बन्न नसकेको हो । जिल्लासभाको निर्णय अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बैसाख ३ गते भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई लिखितरुपमा मध्यपहाडी राजमार्ग घोषणा हुनुभन्दा अगाडिको जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्ड अनुसार चौडा गर्नका लागि ध्यानकर्षण गराएका थिए ।

    jayaram-halesi road (narrow) (2).jpg

    हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी लगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो । मध्यपहाडीको मापदण्ड अनुसार बनाउन छुटाइएको सो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सवारी साधनको बाक्लो ओहोर–दोहोर हुनेगरेको छ ।

    सडक साँघुरो र जिर्ण हुँदा सबैभन्दा धेरै हलेसी आएर फर्कने दर्शनार्थी मारमा परेका छन् । भक्तजनले हलेसी आउनेजाने क्रममा जोखिम मोलेर साँघुरो सडक पार गर्नुपरेको भन्दै गुनासो पोख्ने गरेको हलेसीस्थित होटल तुवाचुङका सञ्चालक राजेश राई बताउँछन् ।

    “पुर्व–पश्चिम जोड्ने बाटो खुलेको छ । तर बीचमा जयरामदेखि हलेसी खण्डको अवस्था नाजुक छ । राम्रो बाटो छैन, विकराल छ । यसलाई मध्यपहाडीको मापदण्ड अनुसार बनाइनुपर्‍यो,” राईले भने, “त्रि–धार्मिकस्थल हलेसीमा भक्तजन आउनुहुन्छ । यत्रो ठूलो धार्मिकस्थल छ तर बाटोचैं किन यती साँघुरो भयो भनेर प्रश्न गर्नुहुन्छ । यहाँ सरकार छैन की नेता छैनन् भनेर सोध्नु हुन्छ । प्रश्न सुन्दा अप्ठ्यारो लाग्छ ।”

    जयराम–हलेसी सडक खण्डमा साँघुरो बाटो भएका कारण मोडहरुमा लामो गाडीलाई टर्निङ गर्न कठिन छ । नियमित मर्मत अभावमा उत्तिकै खाल्डाखुल्डी बनेको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाका वडाअध्यक्ष रुद्र राईले बताए । चालक छिन–छिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारी साधन चलाउन बाध्य छन् । खाल्डोमा वर्षा याममा पानी जमेर आहाल बन्ने गरेको छ ।

    खराव अवस्थाको सडकका कारण जिल्लाप्रति नकरात्मक सन्देश गइरहेको व्यवसायी राईले बताए । आवधिक मर्मत अन्तरगत सडक विभाग र पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जयराम–हलेसी सडकलाई पटक–पटक मर्मत गर्दैआएको छ ।

    फराकिलो बनाउने की ‘एलाइनमेन्ट’नै चेञ्ज गर्ने ?

    हलेसी–जयराम सडक खण्डलाई मध्यपहाडी राजमार्गको मापदण्ड अनुसार फराकिलो बनाउने प्रकृया अघि बढेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेका इन्जिनियर दिनेश मुनकर्मी बताउँछन् ।

    तर, भौगोलिक विकटताका कारण मध्यपहाडीको मापदण्ड अनुसार फराकिलो बनाउन कठिन देखिएको भन्दै सडक सुधार तथा विकास आयोजना निर्देशनालयले चौडा गर्ने वा त्यसको ‘एलाइनमेन्ट’नै चेञ्ज गर्ने भन्ने बारेमा अध्ययन गरिरहेको जनाएको छ ।

    सम्बन्धित समाचार