शनिवार, जेठ १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लागु औषध सेवन तथा दुर्व्यसन नियन्त्रण सम्वन्धी सचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा विद्यालयलाई लक्षित गर्दै लागु औषध सेवन तथा दुर्व्यसन नियन्त्रण सम्वन्धी सचेतनामुलक कार्यक्रम सुरु गरिएको हो ।
बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित जगदम्बा माबि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माविमा लागु औषध सेवन तथा दुर्व्यसन नियन्त्रण सम्वन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।
लागु औषध सेवन तथा दुव्र्यसनीबाट युवालाई बचाउने लक्ष्यका साथ नगरपालिकाका १५ वटै वडामा विद्यार्थी लक्षित कार्यक्रम सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

नगरपालिकाका २० वटा विद्यालयमा लागु औषध सेवन तथा दुर्व्यसन विरुद्धका सचेतनामुलक कार्यक्रम गर्ने तयारी गरिएको छ । कार्यक्रममा प्रहरीले लागु औषध दुर्व्यसनका कारण, लागु औषध दुर्व्यसनका संकेत तथा लागु औषध दुर्व्यसन सरोकथामका उपायहरुका बारेमा विद्यार्थीलाई जानकारी दिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमका दौरान ‘लागु औषधको सेवन नगरौं, आफु बचौं अरुलाई पनि बचाऔं, लागु पदार्थको सेवन नगरौं, सभ्य समाजको निर्माण गरौं, लागु औषध त्यागौं, स्वस्थ र सुखी जीवनतर्फ लागौं, लागु औषध लिने बानी, स्वास्थ्य र धनजनको हानी, लागु पदार्थ नशा, सुरु भयो जीवनको दशा’ लगायतका सन्देशमुक नारा समेटिएको ब्रोसर बाँड्ने प्रवन्ध मिलाइएको छ ।