बुधवार, जेठ १० २०८०
नेपाल वाइड
खोटाङ, १० जेठ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पा र रावाबेँसी गाउँपालिका–५ दुबेकोल जोड्ने भीरपानीस्थित कच्ची सडक मर्मत गर्नेक्रममा हालसम्म तीन करोड बढी खर्च भएको छ ।
२०७२ सालमा ट्र्याक खोलिएको सडक मर्मतका क्रममा हालसम्म तीन करोड २८ लाख खर्च भइसकेको छ । भौगोलिक रुपमा विकट क्षेत्रमा ग्रेड नमिलाई बनाइएको करिब एक किलोमिटर खण्ड सडक मर्मतका क्रममा हरेक वर्ष बजेट खर्च भइरहेको छ ।
सडक मर्मतका नाममा निरन्तर बजेट खर्च भइरहेका कारण सो सडक खण्डलाई ‘बजेट सक्ने सडक’ भन्ने गरिएको छ । भिरपानीमा ट्र्याक खोलेको दुई वर्षपछि ‘गाडी उक्लिन सकेन’ भन्दै स्थानीय डेलीगेसन गएपछि ऐसेलुखर्क गाउँपालिकाले २०७४ सालमा कम्तीमा १० लाख विनियोजन गरेर सामान्य सडक मर्मत गरेको थियो ।
२०७५ सालमा पनि भिरपानीमा ‘बोलेरो जीप चढेन’ भन्दै सडक मर्मतका लागि स्थानीय गाउँपालिका पुगेपछि पुःन २० लाख खर्च गरिएको ऐसेलुखर्क गाउँपालिकाका पुर्वअध्यक्ष बिश्वनाथ निरौला बताउँछन् । २०७५ सालमा ग्रेड नमिलेको सडकलाई थोरै ‘डाउन’ गराइएको थियो । निरौलाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारबाट प्राप्त दुई करोड र गाउँपालिकाको ५० लाख सडकको ग्रेड मिलाउन र मर्मतमा खर्च गरिएको थियो ।

भिरपानीको सोही सडक खण्ड मर्मतका क्रममा गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा १५ लाख खर्च र चालु आर्थिक वर्ष २०७९÷०८० मा ३० लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।
चालु आर्थिक वर्ष ३० लाखको टेण्डर खुलाइए पनि २३ लाखमा ठेक्का लागेर करिब छ सय मिटर खण्डमा सोलिङ गरिएको छ । त्यसअघि पनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत तीन लाख बराबरको सोलिङकै काम गराइएको थियो ।
सो खण्डमा ढलानको योजना बनाइएको गाउँपालिका अध्यक्ष राई बताउँछन् । स्थानीय सरकार कार्यान्वयनमा आउनुभन्दा अघि तत्कालिन जिल्ला विकास समितिमार्फत पनि सो भिरपानीको सडक मर्मतमा खर्च भएको थियो ।
तर त्यसको हिसावकिताव कोहीसँग छैन । २०७२ सालअघि ऐसेलुखर्क गाउँपालिका जोड्नका लागि रावाबेँसी गाउँपालिकाको बसेरीडाँडाबाट ट्र्याक खोल्न सुरु गरिएको थियो ।
तर भिरपानीमा पुगेपछि पहरा काट्न नसक्दा सडक निर्माणको काम केही वर्ष रोकिएको थियो । भौगोलिक विकटताका कारण भिरपानीबाट सडकको ट्र्याक खोल्न पटक–पटक जोखिम मोल्नु परेको माक्पाका वडाध्यक्ष अरुण राईले बताए ।
भीर काट्न कठिन भएपछि स्थानीयले राती चिन्ता बसाएर भोलीपल्ट पञ्चौली पुजा गरेका थिए । कडा चट्टान भएको भिरालो पहरोमा पुगेपछि रोकिएको सडकलाई २०७२ सालमा सडक डिभिजन कार्यालय ओखलढुंगामार्फत प्राप्त भएको १५ लाख बजेटबाट अघि बढाइएको थियो ।
सो १५ लाख र तत्कालिन जिबिसबाट प्राप्त भएको सात लाख बजेटले चट्टानी पहरो काटेर भिरपानीबाट सडक पार गराइएको सडक निर्माणमा अग्रसर कृष्णचन्द्र श्रेष्ठ बताउँछन् । बल्लतल्ल ट्र्याक खोलिएको भीरपानीमा मर्मत सम्भारमा भएको खर्चको फेहरिस्त भने अपत्यारिलो बन्न पुगेको हो ।
सबैभन्दा अप्ठ्यारो मानिएको भिरपानीको चट्टान पार गरेको दुई किलोमिटर सडक माक्पाको नोरुङसम्म पुगेको थियो । त्यसपछि नरङबाट ऐसेलुखर्क बजारसम्म सडक पुर्याइएको रावाबेँसी गाउँपालिकाका पुर्वअध्यक्ष लिलानाथ निरौला बताउँछन् ।
अहिले ऐसेलुखर्क पुग्नका लागि त्यही दुबेकोल–माक्पा तथा अर्को हुर्लुङ–जालपा–माक्पाको बाटो प्रयोग भइरहेको छ । उसो त बसेरीबाट भिरपानी हुँदै ऐसेलुखर्कसम्मको ट्र्याक खोल्ने क्रममा भएको खर्च बारे पनि अहिले सबै बेखबर देखिन्छन् ।
ट्र्याक खोल्ने क्रममा देश–विदेशमा रहेका व्यक्तिबाट चन्दा संकलनदेखि आमा समुह, सामुदायीक वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति र तत्कालिन गाबिसबाट चार लाख जुटाइएको थियो ।
यस्तै, ऐसेलुखर्क बजारका स्थानीयबाट आठ लाख प्राप्त भएको थियो । सडक बनाउनका लागि त्यो बेला दुई लाख ऋण समेत काढिएको वडाध्यक्ष राई बताउँछन् ।
भीरपानीमा चट्टान काट्ने क्रममा बकेटमा प्रतिघण्टा आठ हजार र ब्रेकरमा प्रतिघण्टा १० हजारका दरले खर्च गरिएको थियो । दुबेकोलतर्फबाट भिरपानीको सिमानासम्म ट्र्याक ओपन गर्नेक्रममा तत्कालिन संघीय सांसद पाँचकर्ण राईको सांसद विकास कोषको १० लाख पनि खर्च गरिएको थियो ।
तर ट्र्याक ओपन गर्दा र सडक मर्मत गर्नेक्रममा ‘कहाँबाट कति बजेट आए’ भन्ने चुस्त हिसावकिताव भने कहीँकतै पाइन्न । भिरपानी सडकले मर्मत र स्तरोन्नतीको नाममा हरेक वर्ष बजेट भने खाएकोखायै छ ।
दुबेकोलतर्फबाट भिरपानीको सिमानासम्म ट्र्याक ओपन गर्नेक्रममा तत्कालिन संघीय सांसद पाँचकर्ण राईको सांसद विकास कोषको १० लाख पनि खर्च गरिएको थियो ।