आइतवार, बैशाख ३१ २०८०
नेपाल वाइड
खोटाङ, ३१ बैसाख । बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका कृषि विज्ञ मदन राई विरुद्ध जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप भएको छ ।
खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका संस्थापक/सञ्चालक राई बिरुद्ध आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अघि बढाइएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
फाउण्डेसनमा बसेर अध्ययन गरिरहेकी किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा कृषि विज्ञ राईलाई प्रहरीले बैसाख २९ गते फाउण्डेसनबाटै पक्राउ गरेको थियो । शनिबार बिदा परेकाले आइतबार अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको हो ।
वाल यौन दुरुपयोग कसुरमा ७५ वर्षीय राई बिरुद्ध बैसाख २९ गते मुद्धा दर्ता भएको छ । उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले आफुमाथि यौन दुर्व्यवहार भएको भन्दै कृषि विज्ञ राई विरुद्ध जाहेरी दिएकी थिईन् ।
अन्य किशोरीबाट पनि जाहेरी आउने तयारी भएको डिएसपी मुकारुङले बताए । ‘गरि खान सिकाउने’ नारा सहित प्रयोगात्मक शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनमा विभिन्न जिल्लाका डेढ सय विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् ।
फाउण्डेसनका सञ्चालक राईले फाउन्डेशनमा बसिरहेका छात्रालाई यौन दुर्व्यवहार गरेको समाचार सेतोपाटी डटकमले वैशाख २८ गते प्रकाशित गरेको थियो ।