बुधवार, बैशाख २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ बैसाख । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको दम्कु गोपिनीमा गुम्बा निर्माण गरिएको छ । गाउँपालिकाको अनुदान र स्थानीयबाट संकलन गरिएको १९ लाख ७५ हजार ११० रुपैयाँको खर्चमा एक तले साङ्गे छ्योइलिङ गुम्बा निर्माण गरिएको हो ।
नवनिर्मित गुम्बा बुधबार गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र उपाध्यक्ष कौशिला गुरुङले उद्घाटन गरेका छन् । गुम्बा निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा चार लाख र आर्थिक वर्ष २०७९/०८० मा छ लाख बिनियोजन गरेको गुम्बा निर्माण उपभोक्ता समिति सचिव पर्शुराम तामाङले बताए ।
यस्तै, ४५ जना दाताबाट संकलित नौ लाख ७५ हजार ११० रुपैयाँमा खर्च भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि स्थानीय मनबहादुर गुरुङ र टीकामायाँ गुरुङले एक रोपनी जग्गा निःशुल्क दान गरेका छन् ।
गुम्बा निर्माण, बुद्धको विभिन्न रुपका तीनवटा मुर्ती खरीदमा खर्च गरेपछि ६० हजार १३० रुपैयाँ बाँकी रहेको सचिव तामाङले बताए । बाँकी रहेको रकमले गुम्बा वरपर घेराबारा, शौचालय, पिउने पानी लगायतको व्यवस्थापन गर्ने तयारी गरिएको छ । गुम्बा सञ्चालनमा आएपछि बौद्ध धर्मावालम्बीको गाउँमै जन्म र मृत्यु सम्वन्धी संस्कार संस्कृती अनुसार पूजापाठ गर्ने वाताबरण बनेको छ ।




