शुक्रवार, बैशाख २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ बैसाख । खोटाङका पहिचान पक्षधर संघ संगठनले साकेला सिलीमार्फत कोशी प्रदेश नामाकरणको बिरोध गरेका छन् । साकेला उभौली एबं यले सम्वत ५०८३ को अवसरमा पहिचान पक्षधरले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा साकेला सिलीमार्फत कोशी प्रदेश नामाकरणको बिरोध गरेका हुन् ।
किरात राई यायोक्खा, प्रदेश १ पुःन नामांकन संयुक्त संघर्ष समिति, किरात सेवा समाज र मझुवागढी संरक्षण तथा पर्यटन विकास समितिले प्रदेशको कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन माग गर्दै साकेला सिलीमार्फत प्रदर्शन गरेका छन् ।
पहिचान पक्षधर समुह टाउकोमा किरात प्रदेश लेखिएको फेटा बाँधेर ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड र कोशीलाई क्रस गरेको पर्चा सहित साकेला नाच्न मझुवागढी पुगेका थिए । अधिकांश किरात समुदायले कोशी नामाकरणको बिरोध गर्दै साकेला उभौली मनाइएको किरात राई यायोक्खाले जनाएको छ ।

कार्यक्रमलाई यायोक्खाका केन्द्रीय उपाध्यक्ष जनक राई, मझुवागढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका पुर्वप्रमुख बबि चाम्लिङ, किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका कार्यबाहक अध्यक्ष एलबी मगर लगायतले कोशी प्रदेशको नाम खारेज गरेर ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात प्रदेश नामाकरण गर्न आवाज उठाएका छन् ।
मुलवासी किरात समुदायले धुमधामका साथ साकेला उधौली मनाउन सुरु गरेका छन् । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा महिना दिनसम्म मनाउने प्रचलन छ । साकेला उभौलीका कारण किरात समुदायको बसोबास रहेको स्थानमा ढोल, झ्याम्टा र साकेला गीत गुञ्जिरहेका छन् ।

साकेलाको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै सिली नाच्ने गरिन्छ । आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्दै विभिन्न परिकार खाएर रमाइलो गर्ने प्रचलन छ ।
