खोटाङ, २८ चैत । खोटाङमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत जिल्लास्तरीय छनौट प्रतियोगिता शुरु भएको छ ।
आगामी वैशाख–११, १२ र १३ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि मंगलबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु गरिएको हो ।
दिक्तेलको माटिकोरे खेलमैदानमा तीनदिनसम्म सञ्चालन हुने छनौट प्रतियोगिता नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गरेकी छन् ।
जिल्लास्तरीय प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोमा १३८ पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले बताए ।
प्रतियोगीतामा जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकाका मावि तहका छात्रछात्राको मात्र सहभागिता रहेको छ ।
जिल्लास्तरीय छनोट प्रतियोगिता अन्तरगत एथलेटिक्समा २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेमा आठ स्वर्ण, आठ रजत, आठ कास्य तथा तेक्वान्दोमा आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा स्वर्ण, रजत कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः नगद १५ हजार, १२ हजार र नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८/१८ तथा कराँते र तेक्वान्दोमा छ/छ जना छात्रछात्राले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका प्रमुख केसीले बताए ।