शनिवार, फाल्गुण २७ २०७९
नेपाल वाइड
खोटाङ, २७ फागुन । खोटाङमा दाहाल प्रतिष्ठानको भवन उद्घाटन गरिएको छ । दाहाल समुदायका दाताबाट संकलन गरिएको २४ लाख ४४२ रुपैयाँको खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा गैरीगाउँमा निर्माण गरिएको एक तले भवन शनिबार उद्घाटन गरिएको हो । दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको पहलमा निर्माण गरिएको भवन प्रतिष्ठानका केन्द्रीय सदस्य सिताराम दाहालले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएको ६ आना जग्गामा दाहाल प्रतिष्ठानको भवन निर्माण गरिएको हो । प्रतिष्ठानको भवन २०७७ फागुन २३ गते शिलान्यास गरिएको थियो ।
भवन निर्माणका लागि जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका २७१ जना दाहाल बन्धुबाट २६ लाख ४८ हजार ९७२ रुपैयाँ संकलन भएको दाहाल प्रतिष्ठानका अध्यक्ष मिनकुमार दाहालले बताए ।
भवन निर्माणका लागि एक सयदेखि एक लाख ११ हजार १११ रुपैयाँसम्म सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । भवन उद्घाटनका क्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको छ ।
प्रतिष्ठानको तीन तले भवन निर्माणका लागि नगरपालिकाबाट नक्सा पास भइसकेको छ । प्रतिष्ठानले सभाहल, पदाधिकारी कक्ष र अतिथि गृह रहनेगरी भवन निर्माण सुरु गरेको हो ।
