बिहिवार, फाल्गुण १८ २०७९
नेपाल वाइड
खोटाङ, १२ फागुन । दुई महिना म्याद बाँकी रहँदा खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा निर्माणाधिन १५ शैयाको आधारभुत अस्पताल भवन निर्माणको काम करिब ३५ प्रतिशत मात्र प्रगती देखिएको छ ।
विवस इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले २०८० बैसाख ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७८ कात्तिक २६ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर हालसम्मको वित्तीय प्रगतीलाई हेर्दा बाँकी समयभित्र अस्पतालको भवन निर्माणको काम सम्पन्न नहुने निश्चित भएको गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष राईले बताए ।
स्थानीय कर्णबहादुर गुरुङ र भिमकेशर गुरुङले बाक्सिलाको जरंखामा करिब एक करोड बढि मूल्याको ९ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएपछि तत्कालिन प्रतिनिधिसभा सांसद बिशाल भट्टराई, प्रदेशसभा सांसद राजन राई र गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले २०७७ मंसिर २३ गते अस्पताल भवन शिलान्यास गरेका थिए । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार बाक्सिलामा भ्याट सहित १२ करोड २० लाख नौ हजार ८९८ रुपैयाँमा अस्पताल निर्माण सुरु गरिएको हो ।
बेलामा भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीका प्रतिनिधि किशोर राईले माघ ३ गते गाउँपालिका समक्ष काम अघि बढाउन नसक्ने लिखित रुपमा जानकारी गराइसकेको छ ।
निर्माण कम्पनीले २०७९ भदौ ३० गते पेश गरेको कामको प्रथम रनिङ बिलको भुक्तानी पाउन चार महिना लागेको र २०७९ पुस ३ गते पेश गरेको दोश्रो बिलको भुक्तानी हालसम्म नपाएकाले ठेक्काको काम समयमा सम्पन्न नहुने उल्लेख गरेको छ । उसले दोश्रो रनिङ बिलको भुक्तानी गर्न नसकिए लिखित रुपमा काम बन्द गर्न आदेश दिन गाउँपालिका समक्ष भनेको छ ।
“खरिद नियमावली अनुसार बिल पेश गरेको २८ दिनभित्र कार्यालयले बिल भुक्तानी गर्नुपर्ने तर बारम्बार बिल भुक्तानीमा ढिलासुस्ती भएको कारण यस ठेक्काको काम समयमा सम्पन्न नहुने जानकारी गराउँदछु,” निर्माण कम्पनीको पत्रमा भनिएको छ,
“नियमाअनुसार २८ दिनभित्र बिल भुक्तानी नभएको खण्डमा त्यस कार्यालयले निर्माण कम्पनीलाई जरिवाना दिनुपर्ने हुन्छ, त्यस कार्यालयले बिल भुक्तानीमा ढिलासुस्तीका कारण यस ठेक्काको म्याद थप्नुपर्ने हुँदा म्याद थपमा लाग्ने सम्पूर्ण आर्थिकभार त्यस कार्यालयले व्यहोर्नुपर्नेछ ।”
सम्झौता मितिमा १० प्रतिशत पेश्की लिएको निर्माण कम्पनीले प्रथम रनिङ बिलमा एक करोड १४ लाख ६०९ रुपैयाँ भुक्तानी पाएको थियो । दोश्रो रनिङ बिल ८१ लाख १७ हजार २६१ रुपैयाँको पेश गरेको योजना शाखा प्रमुख राई बताउँछन् ।