मंगलवार, फाल्गुण २ २०७९
नेपाल वाइड
खोटाङ, २ फागुन । खोटाङको साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिका ४०७ जना ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ जना नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिएको हो ।
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १०२ जना ज्येष्ठ नागरिक र ४ जना पूर्ण अपांगता भएका व्यक्ति, साकेला गाउँपालिका–२ रतन्छाका १०३ जना ज्येष्ठ नागरिक र ५ जना पूर्ण अपांगता भएका व्यक्ति, साकेला गाउँपालिका–३ खिदिमाका २६ जना ज्येष्ठ नागरिक र ३ जना अपांगता भएका व्यक्तिको स्वास्थ्य वीमा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताईन् ।
यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ९८ जना ज्येष्ठ नागरिक र ४ जना पूर्ण अपांगता भएका व्यक्ति तथा साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ७८ जना ज्येष्ठ नागरिक र ५ जना पूर्ण अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।
७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धि सेवा तथा सुविधा उपलब्ध गराउने उद्धेश्यले गाउँपालिकाले टोल र बस्तीमा पुगेर स्वास्थ्य विमा परिचय–पत्र वितरण गरिरहेको छ ।
स्वास्थ्य विमा गरेका नागरिकले स्वास्थ्य विमा कार्यक्रम लागू भएका अस्पतालबाट एक लाखसम्म औषधी उपचारमा छुट पाउने व्यवस्था छ । पूर्ण अपाङ्गता भएका नागरिकको हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य विमा गरिने गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।