Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अग्नी पिडितका लागि सरकार समक्ष राहत माग गर्ने विपद व्यवस्थापन समितिको निर्णय

    अग्नी पिडितका लागि सरकार समक्ष राहत माग गर्ने विपद व्यवस्थापन समितिको निर्णय


    • बिहिवार, पौष ७ २०७९

    • नेपाल वाइड


    अग्नी पिडितका लागि सरकार समक्ष राहत माग गर्ने विपद व्यवस्थापन समितिको निर्णय
    जिल्ला प्रशासन कार्यालय खोटाङको कार्यालय

    खोटाङ, ७ पुस । जिल्ला विपद व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागी पिडितको राहत तथा क्षतीपुर्तीका लागि संघीय सरकार र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा भएभरका धनसम्पत्ती गुमाएर विस्थापित भएका पिडितलाई राहत तथा क्षतीपुर्तीका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई संयोजकत्वको विपद व्यवस्थापन समितिले गाउँपालिका अध्यक्ष संयोजकत्वको विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतीको विवरणका आधारमा राहत तथा क्षतीपुर्ती माग गर्ने निर्णय गरेको हो ।

    बैठकले आगलागी पिडितको सहयोगार्थ संकलन हुने राहत एकद्धार प्रणालीमार्फत संकलन र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै, हिउँद तथा वर्षा याममा निम्तिने प्राकृतिक विपत्तीको रोकथाम तथा नियन्त्रणका लागि योजना बनाउने, आवश्यक उपकरण तथा जनशक्ती तयारी अवस्थामा राख्ने लगायतका निर्णय गरिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एबं प्रजिख सेडाईले बताए ।

    स्थानीय तहका प्रमुख, दल, सुरक्षा प्रमुख, संघसंस्थाका प्रतिनिधि बोलाइएको बैठकमा विद्युत सर्ट हुन नदिन सुरक्षित वायरिङ गर्ने, विपत्तीका बेला उद्धारमा खटिने रेक्यू टिम बनाउने, सबै पालिकाके केन्द्रमा दमकलको व्यवस्था गर्ने, फायर इस्टिङग्वीसर राख्ने, जनचेतनामुलक सन्देश प्रवाह गर्ने, उद्धारका सामग्री तयारी अवस्थामा राख्ने लगायतका विषयमा छलफल भएको छ ।

    १० वटै स्थानीय तहलाई पत्राचार गरेपनि बैठकमा ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर राईको मात्र उपस्थिति रहेको थियो । दलकातर्फबाट एमालेका सचिव कुमार आचार्य र नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष दिपक पाण्डे मात्र उपस्थित देखिए ।

    बाक्सिला बजारमा आगलागीमा पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको छ । दिपक गुरुङको घरबाट सुरु भएको आगोले क्रमशः रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर तथा पसल जलेको हो । अकवर राईको घर भने आगो फैलिन नदिन स्काभेटर लगाएर भत्काइएको थियो ।

    सम्बन्धित समाचार