Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअ र विव्यास अध्यक्षले जनाए लिखित प्रतिवद्धता

    शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअ र विव्यास अध्यक्षले जनाए लिखित प्रतिवद्धता


    • मंगलवार, कार्तिक १ २०७९

    • नेपाल वाइड


    शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअ र विव्यास अध्यक्षले जनाए लिखित प्रतिवद्धता
    विद्यालय शिक्षा सुधार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा आफ्नो धारणा राख्दै मेयर तीर्थराज भट्टराई ।

    खोटाङ, १ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायीक विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षले शैक्षिक गुणस्तर बृद्धिका लागि लिखित प्रतिवद्धता जनाएका छन् ।

    खस्किँदो शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सामुदायीक विद्यालयमा कार्यरत प्रअले १७ बुँदे र व्यवस्थापन समितिका अध्यक्षले १५ बुँदे प्रतिवद्धता जनाएका हुन् ।

    नगरपालिकाले सामुदायीक विद्यालयमा कार्यरत प्रअ र व्यवस्थापन समितिका अध्यक्षका लागि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन गरेको विद्यालय शिक्षा सुधार सम्वन्धी अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा मंगलबार शैक्षिक सुधार गर्ने प्रतिवद्धता जनाइएको हो ।

    मेयर तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल र सामाजिक विकास समितिका अध्यक्ष दानबहादुर राईको समेत हस्ताक्षर रहेको प्रतिवद्धता पत्रमासामुदायीक विद्यालयका प्रअले वार्षिक कार्ययोजना र शैक्षणिक योजनाको निर्माण र कार्यान्वयन गर्ने, नगर शिक्षा नियमालवी २०७६ को नियम ५४ मा तोकिएका प्रअको काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियता जनाउने, ठीक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठन–पाठन गर्ने प्रतिवद्धता जनाएका छन् ।

    यस्तै, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान विद्यार्थीलाई बैकल्पिक शिक्षकको रुपमा शिक्षणको अवसर दिने, सबै शिक्षक र विद्यार्थीको अनिवार्य उपस्थितिमा विद्यार्थीको नेतृत्वमा विहान प्रार्थनासभाको सञ्चालन गर्ने, अनुपस्थित भएका विद्यार्थीको अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्वन्ध सुधार गर्ने, शिक्षण सिकाईमा विद्यार्थीको सक्रिय सहभागीतामा वृद्धि गर्ने प्रतिवद्धता जनाइएको छ ।

    प्रअले विद्यालय परिषरको नियमित सरसफाई र पुष्प बाटिका निर्माण गर्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सक्रियतामा वृद्धि गर्ने, छिमेकी विद्यालय, सम्वन्धित वडा, पालिका र शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गर्ने, सहकार्य र साझेदारमा वृद्धि, जरुरी काम बाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिको सुनिश्चितता गर्ने, शैक्षिक सामग्री निर्माण कार्यशाला सञ्चालन गरी शिक्षण सिकाईमा दैनिक प्रयोगका सामग्री बाहेकका शैक्षिक सामग्रीको प्रयोग गर्ने, विद्यालय स्थापना दिवसको दिन अभिभावकको सहभागीतामा छात्रबृत्ति वितरण गर्ने, परिक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावक समक्ष पेश गर्ने, आधारभुत तहमा निरन्तर विद्यार्थीको मूल्यांकनको प्रयोग गर्ने, अभिभावक शिक्षाको थालनी र निरन्तरता दिने प्रअले गरेको प्रतिवद्धता–पत्रमा उल्लेख छ ।

    यस्तै, विव्यास अध्यक्षले नगर शिक्षा नियमावलीमा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिकाहरु विद्यालय आउने जाने बाटोको मर्मत गर्ने, शौचालयको मर्मत सम्भार र सरसफाई गर्ने, शुद्ध पिउने पानीको प्रवन्ध गर्ने, भौतिक पुर्वाधार मर्मतसम्भार गर्ने प्रतिवद्धता जनाएका छन् ।

    शिक्षक र विद्यार्थीको नियमित उपस्थितिका लागि सहजीकरण गर्ने, विद्यालयमा नियमित पठन–पाठनको व्यवस्था गर्ने, अतिरिक्त र सहकार्यकलाप सञ्चालनमा सहजीकरण गर्ने, विव्यासका पदाधिकारीले आलोपालो गरी विद्यालयमा नियमित उपस्थिति जनाउने भनिएको छ ।

    यस्तै, विव्यास अध्यक्षले विद्यालयका कार्यकलापमा अभिभावकको सक्रियतामा वृद्धि गर्ने, फूलबारी र करेसाबारी निर्माणमा विद्यालयलाई सहयोग गर्ने, विद्यालय परिषर र कक्षा कोठाको सरसफाई गर्ने, विद्यार्थी, शिक्षक र अभिभावकको प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

    सम्बन्धित समाचार