आइतवार, आश्विन १६ २०७९
नेपाल वाइड
खोटाङ, १६ असोज । खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग उठेको छ । करारमा सहायकस्तर चौथो स्तरको दुई जना अनमी भर्नाकालागि गाउँपालिकाले गत असोज १ गते लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको थियो ।
तर एक परिक्षार्थीले ‘सेटिङ’मा करारका अनमी भर्ना गरेको आरोप लगाउँदै पुःन परीक्षाका लागि गाउँपालिकामा निवेदन दिएका छन् । असोज २ गते दिइएको निवेदन उपर गाउँपालिकाबाट कुनै सुनुवाई नभएको निवेदकले बताएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को करार पदमा सहायकस्तर चौथो तहको अनमी भर्नाका लागि गाउँपालिकाले भदौ १० गते विज्ञापन आव्हान गरेको थियो ।
निवेदनमा स्वास्थ्य आयोगको ढाँचा र नियम अनुसार ५० वटा प्रश्न सोधिनु पर्नेमा २४ वटा मात्र सोधिएको, पहिल्यै हल्ला चले अनुसार गाउँपालिका अध्यक्षले बोलाएकै व्यक्तीले उत्तिर्ण गरेको, उत्तिर्ण परीक्षार्थी १० मिनेटमै परिक्षा हलबाट बाहिरिएको, २४ प्रश्नमध्ये २४ वटै जवाफ मिलेका कारण प्रश्न–पत्र आउट भएको उल्लेख छ ।
निबेदनमा परिक्षा सञ्चालन अवधिको सिसि क्यामेराको फुटेज हेर्नुपर्ने भनिएको छ । कानुन हातमा लिइ मनपरी गरेको हुनाले कानुन अनुसार पुःन परीक्षा गराइ दिन अनुरोध छ,’ निवेदनमा भनिएको छ, ‘निवेदनको बेवास्ता गरी पुःन परीक्षा नगराए माथिल्लो निकायमा जाने जानकारी गराइन्छ ।’
गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले भने अन्तिम परिणाम घोषणा भइसकेकाले पुःनर्विचार गर्न नसकिने बताएका छन् । “अरु विषयको परिक्षाको परिणामको बारेमा पनि केही भाईहरुले असन्तुष्टी जनाइरहेका थिए ।
लिखितरुपमा आधार दिनुस् भनेँ तर दिनु भएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अनमीको विषयमा भोलीपर्सीपल्ट मात्र निवेदन परेको सुनेँ । अन्तिम परिणाम सार्वजनिक गर्नुअघि लिखित निवेदन परेको परीक्षा रोकेर भए पनि छलफल गर्न सकिन्थ्यो ।’
गाउँपालिकाले करारमा अनमी सहित हेअ, रोजगार सहायक र कृषि स्नातक प्राविधिकको परीक्षा सञ्चालन गरेको थियो । केहीको परीक्षामा परिक्षार्थीको असन्तुष्टी जनाएका थिए ।