मंगलवार, आश्विन ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ असोज । निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्याइएका बालकलाई थप आर्थिक सहयोग जुटेको छ । निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तीबाल अस्पताल पुर्याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई पत्रकार कृष्णकला राईको पहलमा थप ७८ हजार ५०९ रुपैयाँ सहयोग जुटेको हो ।
यूकेबाट रत्न राईको पहलमा ११ दाताबाट ८१ हजार ८०० रुपैयाँ र कुबेतबाट प्रशान्त चाँदनी राईबाट ५ हजार ७०९ रुपैयाँ सहयोग प्राप्त भएको हो । शुभेच्छुकबाट प्राप्त भएको सहयोग रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईमार्फत बालकका आमा मनिला राईलाई हस्तान्तरण गरिएको छ ।
यसअघि पत्रकार राईको पहलमा बिरामी बालकको उपचारका लागि ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको थियो । बिरामी बालक उपचारपछि घर फर्किसकेकाले संकलित रकम बालकको नाममा खाता खोलेर जम्मा गरिदिएको पत्रकार राईले बताईन् ।
हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दै आएका रोजन राई र मनिलाको दोश्रो सन्तान रेवनलाई भदौ २६ गते राती कान्तीबाल अस्पताल लगिएको थियो ।
पत्रकारद्धय कृष्णकला राई र सञ्जिव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फण्डबाट एम्बूलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो ।
अस्पतालले उपचारमा पनि छुट दिएको थियो । नेकपा एमाले खोटाङ–काठ्माडौं सम्पर्क मञ्चका उपाध्यक्ष कुमारबाबु बस्नेत (टिवी)को पहलमा पनि बालकको उपचारका लागि सहयोग संकलन भएको थियो ।