मंगलवार, आश्विन ४ २०७९
नेपाल वाइड
खोटाङ, ४ असोज । डेंगु नियन्त्रणका लागि खोटाङको दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन नगरपालिकामा डेंगुका बिरामी देखा पर्न थालेपछि नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।
स्वास्थ्य कार्यालयको समन्वयमा नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार दिक्तेलबजारमा र्यालीसहित होटल तथा पसलका भाँडाकुँडा र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ ।
जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । १५ वडा रहेको नगरपालिकामा कम्तीमा १८ जनालाई डेंगु संक्रमण पूष्टि भइसकेको छ ।
डेंगु नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने जनस्वास्थ्य निरिक्षक आचार्यले बताउनुभयो । गत भदौ १४ गते यता जिल्लामा डेंगुका बिरमी देखिन थालेको हो । हालसम्म २५ जनालाई डेंगु पूष्टी भइसकेको जिल्ला अस्पतालले जनाएको छ ।