बुधवार, भाद्र २९ २०७९
नेपाल वाइड
खोटाङ, २८ भदौ । निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्याइएका बालकलाई आर्थिक सहयोग जुटेको छ । निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तीबाल अस्पताल पुर्याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई ६२ हजार ३०० रुपैयाँ सहयोग जुटेको हो । पत्रकार कृष्णकला राईको पहलमा ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको हो । संकलित रकम किशोर राईको नाममा आइएमई गरेर पठाइएको पत्रकार राईले बताईन् ।
यस्तै, प्रतिनिधिसभा सांसद हिरा गुरुङले १ हजार, कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजीमयले ३ हजार, साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले १ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले १० हजार, कांग्रेस नेता धर्मराज पोखरेलले ४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष सपना राईले ३ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले १० हजार लगायत गरी ४० हजार सहयोग जुटेको छ । दलका नेता, जनप्रतिनिधि एबं समाजसेबीले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दै आएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राती कान्तीबाल अस्पताल लगिएको थियो ।
श्वास फेर्न गार्हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राती ११.१५ बजे काठ्माण्डौं पठाइएको हो ।
पत्रकारद्धय कृष्णकला राई र सञ्जिव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फण्डबाट एम्बूलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो ।
अस्पतालले उपचारमा पनि छुट दिएको थियो । नेकपा एमाले खोटाङ–काठ्माडौं सम्पर्क मञ्चका उपाध्यक्ष कुमारबाबु बस्नेत (टिवी)ले बालकको उपचार व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
पत्रकारद्धयले वालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जाल र अनलाइनको पेजमार्फत उजागर गरेका थिए । पत्रकार सञ्जिवको मदानीखबरको पोष्ट हेरेपछि शुभेच्छुक चिरञ्जिीवी रिजालबाट ५ हजार, राजकुमार राईबाट ५ हजार, बिमला राईबाट २ हजार र किसन राईबाट १ हजार आर्थिक सहयोग जुटाएर वालकलाई रातारात काठ्माडौं हिँडाइएको थियो । वालकको उपचारका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।