शनिवार, भाद्र २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ भदौ । श्रमदानको माध्यमबाट खानेपानी व्यवस्थापन सुधारमा अघि सरेका धरानका मेयर हर्क साम्पाङ र मापदण्ड विपरितका संरचना हटाउनमा डोजर लिएर हिँडेका काठ्माण्डौंका मेयर बालेन शाहभन्दा कम छैनन् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा ।
शहरमा साम्पाङ र शाहको मात्रै चर्चा चलिरहँदा शेर्पा खिजिदेम्बाको कुनाकाप्चामा आफ्नो जनतासँग हिलोमैलोमा लड्दैउठ्दै श्रमदानमा पसिना चुहाइरहेका छन् । हातमा ह्याम्मर, झम्पल, गैंती, बेल्चा बोकेर हल्ला नगरी जनतासँग विभिन्न वडाका सडक तथा गोरेटो बाटो, स्कुल जाने बाटो मर्मत सम्भार, काठे पुल निर्माणदेखि खोलामा वारपार गर्न टेक्ने ढुंगा राख्ने लगायतका काममा श्रमदान गर्न खटिरहेका भेटिन्छन् ।
प्रायः कोट, पाइन्ट र टिलिक्कको जुत्ता हुँदैनन् उनका शरीरमा । गाडीमा धुवाँ र धुलो उडाउँदै हिँड्दैनन् उनी । सामान्य टि–सर्ट, ट्राउजर/कट्टु र गम्बुटमा देखिइने शेर्पा अरु सरह ह्याम्मर उचालेर ढुंगा फोड्छन्, झम्पाल उज्याएर ढुंगा पल्टाउँछन्, बेल्चाले माटो उठाउँछन् । गाउँघरका जनजीवन सहज बनाउन सामान्य मर्मत सम्भारमा श्रमदान गर्न आव्हान गर्ने र आफु पनि पसिना चुहाउँदै सरिक हुने उनलाई कतिपयले गाउँका ‘हर्क–बालेन’ भन्ने गरेका छन् ।
खिजिदेम्बा गाउँपालिका–६ स्थायी ठेगाना भएका शेर्पा ८ वर्षकै उमेरदेखि गाउँ बाहिर बसे । अध्ययनका क्रममा चिनमा ‘टिनएज’ विताए, लक्का जोवन अमेरिकामा वित्यो । उनी सन १९९८ मा अमेरिका पुगेका थिए । केही समयपछि एक पटक नेपाल आएर पुःन अमेरिका फर्किएका उनी १८ वर्षपछि सन २०१८ जुनमा स्वदेश फर्किएका थिए ।
कलाकार भएकाले उनले अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी सिटिजनसीप’ पाएका थिए । उनी अमेरिकाबाट राजनीति गर्ने र गाउँपालिका अध्यक्ष उठ्ने सोचका साथ आएका थिएनन् । आफ्नै एक व्यवसायीक कम्पनीलाई प्रवद्र्धन गर्ने सोचमा स्वदेश फर्किएका थिए । तर परिस्थितिले अर्कै मोड लियो । गाउँपालिका हाँक्ने जिम्मेवारीमा पुगे ।
बिश्वभर कोभिड–१९ को महामारी आतंक थियो । काठ्माडौंमा हिँडडुल गर्न बन्देजजस्तै थियो । तरकारी किन्ने समेत समय निर्धारण गरिएको थियो । त्यो अवस्थामा गाउँ सुरक्षित हुने र अमेरिकामा जन्मिएकी छोरीलाई आफु जन्मेको थाँतथलो देखाउने मनसायका साथ उनी छोरी सहित खिजिदेम्बा पुगे ।
चाडवाडमा गाउँ पुग्दा दुईतीन दिनमै फर्किने शेर्पा कोभिड महामारीकाबेला तीन महिना घुलमिल भएर गाउँमा बसे । त्यसबीचमा उनले गाउँको दुःखलाई नजिकबाट नियाल्ने मौका पाए । गाउँको अविकास देखे, बिकृति र विसंगती देखे । त्यही बसाईले उनलाई ‘गाउँको मुहार फेर्नका लागि आफै अघि सर्नुपर्छ, केही गर्नुपर्छ’ भन्ने महसुस गरायो ।
त्यसमाथि आफन्त तथा शुभेच्छुकले राजनीतिमा लागेर नेतृत्व प्रदान गर्न हौस्याए । परिवारसँग सल्लाह गरे । अमेरिकी नागरिकता त्यागे । नेपाली नागरिकता लिएर मतदाता नामावली दर्ता गराए । जनता समाजवादी पार्टी (जसपा)बाट गाउँपालिका अध्यक्ष उठे । जनताले पत्याए । “खासमा कोभिडले मलाई गाउँ बसायो, गाउँले तान्यो,” शेर्पाले भने, “जीवन एक पटक आउने हो । देश विदेशमा देखेजानेका अनुभवलाई सदुपयोग गरौं न त भनेर राजनीतितिर लागेँ ।”
खिजिदेम्बा गाउँपालिकामा ९ वडा छन् । ३ हजार ७४० घरधुरीमा १५ हजार २९१ जनसंख्याको बसोबास छ । निर्वाचित भए लगत्तै शेर्पा नागरिकको जनजीवन बुझ्नका लागि सबै घर पुगिसकेका छन् । भौतिक पुर्वाधार, सडक तथा ढल व्यवस्थापन, झोलुंगे पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, जटिबुटी लगायतको आवश्यकता र सम्भाव्यता बुझेर बजेट व्यवस्थापन गर्न प्रदेशदेखि संघीय मन्त्रालयसम्म फायल बोकेर कुद्छन् ।
गाउँपालिकाभित्रको समस्या, दुःख र पीडा अध्ययन गर्छन्, स्थानीयसँग सुझाव लिन्छन् र छलफल गरेर योजना बनाउने गरेका छन् । आफ्नो कार्यकालमा गाउँपालिकाको मुहार फेर्ने खाका तयार पार्ने सोचसहित अघि बढेका छन् शेर्पा । सडक विकासको मेरुदण्ड भएकाले दुई वर्षसम्म सडक विस्तारमा बजेट खर्च गर्ने, त्यसपछि क्रमशः कृषि, पर्यटन, रोजगार लगायतलाई प्राथमिकतामा राख्ने योजना बनाएको शेर्पा बताउँछन् । विदेसिएका युवालाई गाउँमै फर्काउने उनको सोच छ ।
गाउँपालिका अध्यक्ष चुनिएपछि कार्यालय पुग्नुपर्छ । कुर्सीमा बसेर नीतिगत निर्णय गर्नुपर्छ । तर सँधै नीतिगत काम हुँदैनन् । केही समय योजना तथा बजेटका लागि बिराटनगर र काठ्माडौं जानआउन बिताउँछन् । अन्य समयलाई उनले जनतासँग श्रमदानमा विताउने गरेका छन् ।
‘कहाँको सडक बिग्रेको छ, कहाँको बाटोघाटो, पुलपुलेसा मर्मत गर्नुपर्ने छ’ सल्लाह गरेर श्रमदानबाटै काम गर्नेगरिएको गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । “मलाई अध्यक्ष हुनुछैन । म महिले पनि अध्यक्ष हुँ भन्न लाज लाग्छ । हामी शासन होईन सेवक हुनुपर्छ भन्ने मान्यता राख्छु,’ उनले भने, “टेवलमा नवस्ने भनेको होईन, नीति निर्माण गर्दा टेवलमा बसेर गर्नुपर्ने हुन्छ । बाँकी समय सेवामा खटिनुपर्छ ।”
गाउँका अधिकांश युवा विदेसिएका छन् । बुढाबुढी मात्र बाँकी छन् । भैंसी, गाई, बाख्रा, कुखुरा पालेका छन् । त्यसलाई समय दिनुपर्छ । खेतीपातीको काम गर्नुपर्छ । तर ‘श्रमदानमा जुटौं’ भनेपछि जनताले घरको काम छाडेर दिनभरी र कहिलेकहीँ रातीसम्म साथ दिने गरेको उनी बताउँछन् । “यसैपल्ट चुनावमा आँट्नु, यसैपाली जनताले पत्याउनु ।

जनताले जिताएपछि जनातलाई नै उल्टै श्रमदान माग्नु । फेरी जनताले आएर श्रमदान दिनु । यी कुराहरु उच्च पहाडी भेगमा सम्भव नहुने कुरा हो,” शेर्पाले भने, “फिल्डमा आफै उत्रिएर काम गर्नुको छुट्टै मजा छ ।
गाउँलेसँग चट्ट पलेटी मारेर हरियो घाँसमा बसेर उहाँहरुले दिनुभएको मोही, भुटेको मकै, आलुसँग अचार चोबेर खानु, त्यसको अलग मजा छ । त्यो कुनै फाइभस्टारको चौरासी व्याञ्जनसँग कम्पेयर गर्ने कुरा नै होईन । यो अपरचुनिटी पनि हो । आफुलाई लक्की पनि ठान्छु ।”
शेर्पाका १३ वटा एल्बम बजारमा आइसकेको छ । २७९ वटा गीत रेकर्ड भइसकेका छन् । निर्वाचित भएपछि चार÷पाँच वटा गीत गाइसके । यही हप्ता अर्को गीत रेकर्डको तयारी भएको शेर्पा बताउँछन् ।
खिजिदेम्बा गाउँपालिकामा सय दिनमा गरिएको कामको २३ बुँदे प्रगती विवरण सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष शेर्पाले सडक, पुल, भवन, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत, जटिबुडी, पर्यटन, सम्वन्धी दर्जनौं योजनाका लागि प्रदेश तथा संघीय सरकारबाट बजेट व्यवस्था गरेर काम अघि बढाइएको सार्वजनिक गरेका छन् ।
सबै वडाको मूल सडक, काठ्माडौंदेखि खिजिदेम्बा र खिजिदेम्बादेखि ओखलढुंगा सदरमुकामसम्म आवत–जावत गर्ने सडक स्तरोन्नती, सोलुखुम्बु लिखुपिके गाउँपालिका हुँदै खिजिदेम्बा–८ काचपु, खोपीखर्क, टाँगा, चुलीकाप्ती, खिजिदेम्बा–७ ज्याङदिङ, थामडाँडा, खिजिदेम्बा–४ चर्नालु, खिजिदेम्बा–३ पुठा, खिजिदेम्बा–५ जिरखर्क, डाँरखर्क, पत्लेखर्क हुँदै खिजिफलाँटे जोड्ने सडकका लागि बजेट व्यवस्थापन गरिएको छ ।
खिजिदेम्बा–५ खिजिफलाँटे बजार हुँदै पात्लेखर्क, दोब्रे भञ्ज्याङ, खिजिदेम्बा–६ फेदीगुम्बा, हातेबन्से हुँदै मोलुङ गाउँपालिकाबाट ओखलढुंगा सदरमुकाम हुँदै प्रदेश राजधानी जोड्ने पक्की सडकका लागि संघीय मन्त्रालयबाट बजेट व्यवस्थापन, खिजिफलाँटेको बढ्दो बजारलाई लक्षित गरी ढल व्यवस्थापनको लागि क्रमागत योजनाका रुपमा संघीय मन्त्रालयबाट बजेट व्यवस्थापन गरिएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७ बाट खिजिदेम्बा गाउँपालिका–१ जोड्ने झोलुंगे पुलको लागि बजेट व्यवस्थापन, खिजिदेम्बा गाउँपालिका–९ मा रहेको मोलुङ खोला, ताउर, खोलाखर्क झोलुङ्गे पुलका लागि बजेट व्यवस्थापन गरिएको प्रगती विवरणमा उल्लेख छ ।
यस्तै, खिजिदेम्बा गाउँपालिकामा पर्ने थोलेदेम्बाको पर्यटनलाई लक्ष्यित गरी प्रदेश १, खानेपानी मन्त्रालयबाट खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन, खिजिदेम्बा गाउँपालिका–६ मा रहेको बन्से, कात्तिकेखर्क खानेपानी समस्यलाई मध्यनजर गर्दै प्रदेशबाट डिपिआर तयार पारेर बजेट व्यवस्था गरिएको छ ।
प्रदेशबाट टोयोटा रेञ्जरोभर एम्बूलेन्स जुटाएर सञ्चालन, प्राथमिक आँखा उपचारका लागि तिलगंगा अस्पतालसँग सम्झौता गरी नेत्र सहायक कर्मचारी नियुक्त, सुत्केरीलाई निःशुल्क एम्बूलेन्स सेवाको व्यवस्था, गाउँपालिकाकै स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा सञ्चालनका लागि रेडियोग्राफर नियुक्त, एक वडा एक नमूना विद्यालयको अभियान सुरु, शिक्षक अभाव रहेको विद्यालयमा शिक्षकको पदपुर्ती गरिएको छ ।
गुम्बा पुःननिर्माणका लागि गुम्बा बिकास बोर्डबाट बजेट व्यवस्थापन, ६ वडा कार्यालयको भवन निर्माणका लागि बोलपत्र आव्हान गरी आगामी असोजदेखि निर्माण सुरु गर्ने, खिजिदेम्बा गाउँपालिका–५ मा सामुदायीक भवन निर्माणको लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन, जडिबुटी प्रशोधन तथा अनुसन्धानका लागि वन तथा वातावरण मन्त्रालयसँग सम्झौता, केन्द्रीय विद्युत प्रशारणलाईनको लागि बोलपत्र आव्हान गरी काम सुरु लगायतका काम गरिएको उल्लेख छ ।


