बिहिवार, भाद्र २ २०७९
नेपाल वाइड
खोटाङ, २ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकैदिन २९ जनालाई कोरोना संक्रमण पूष्टि भएको छ । दिनानुदिन कोरोना संक्रमण फैलिरहेको जनगुनासो आएको अवस्थामा बिहिबार तीन १६४ जनाको एन्टीजेन परीक्षण गर्दा २९ जनालाई संक्रमण पूष्टि भएको हो । संक्रमितमध्ये अधिकांश विद्यार्थी छन् ।
सरस्वती माबि दिक्तेलका ७१ छात्र/छात्राको एन्टीजेन परीक्षण गर्दा १३ जनालाई, श्रीमाबि बाँसबोटे लफ्याङका ५० जनाको परीक्षण गर्दा ६ जनालाई र दिक्तेल इंलिस बोर्डिङ स्कुलका २२ जनाको परीक्षण गर्दा २ जनालाई कोरोना पोजिटिभ पूष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताए । यस्तै, जिल्ला अस्पतालमा २१ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनालाई संक्रमण पूष्टि भएको छ ।
कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा नगरपालिकाभित्र एन्टीजेन परीक्षण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । गत २५ साउनमा भएको डिसिसिएमसीको निर्णय अनुसार नगरपालिकाले आइसोलेसन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ ।