Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना कहर :

    बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय

    बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय

    मास्क, स्यानीटाइजरको प्रयोग गर्न, नियमित साबुन पानीले हात धुन र सामाजिक दुरी कायम गर्न आग्रह

    • बुधवार, भाद्र १ २०७९

    • नेपाल वाइड


    बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, १ भदौ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ ।

    कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टीजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।

    बैठकले बिहिबार दिक्तेलस्थित सरस्वती माबि, पञ्च माबि, दिक्तेल बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा एन्टीजेन परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने र आवश्यकताको आधारमा अन्य शैक्षिक संस्थामा परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    यस्तै, गत २५ साउनमा भएको डिसिसिएमसीको निर्णय अनुसार तीन दिनभित्र आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    मास्क र स्यानीटाइजर गर्न आग्रह

    कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि नगरपालिकाले सार्वजनिक स्थल र भिडभाड हुने स्थानमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्क, स्यानीटाइजरको प्रयोग गर्न, नियमित साबुन पानीले हात धुन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

    यस्तै, विवाह, ब्रतबन्ध, सभा, सम्मेलन, धार्मिक तथा साँस्कृतिक पर्व, उत्सव मनाउँदा भौतिक दुरी कायम गर्न, मास्क तथा स्यानीटाइजरको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ ।

    कसैलाई कोभिड भएको शंका लागे वा त्यस्तो लक्षण देखिएमा स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न र संक्रमण पूष्टि भए सुरक्षित रुपमा होमआइसोलेसनमा बस्न प्रेरित गर्ने निर्णय गरिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भनिएको विज्ञाप्तीमा उल्लेख छ ।

    बैठकले नगरपालिकाभित्र सञ्चालनमा रहेका निजी औषधि पसल सञ्चालकलाई समेत कोभिड महामारीका बेला आवश्यक पर्ने अत्यावश्यक औषधि पर्याप्त मात्रामा सञ्चित गर्न लगाउने निर्णय गरेको छ ।

    यस्तै, कोभिड–१९ को महामारीका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आएका निर्णय गर्ने अधिकार सम्वन्धित विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई प्रत्यायोजन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार