शुक्रवार, श्रावण ६ २०७९
नेपाल वाइड
काठमाण्डौ, ६ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम भइरहेको जानकारी दिए ।
उहाँले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कामलाई कडाइका साथ निगरानी गरिरहेको बताए । सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो हप्ताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए ।
उनका अनुशार पालिका चुनावका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँको भनाइ छ । शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक–शिक्षिका चुनावमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उहाँको भनाइ छ ।
डा. शर्माले भने ‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ, आउँदो हप्ताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ ।’
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्ने जानकारी दिए । दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार नौ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।