आइतवार, श्रावण १ २०७९
नेपाल वाइड
खोटाङ, १ साउन । खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दीर व्यवस्थापन समिति अस्तित्वमा आएपछि बिवाद चर्किदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो ।
हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हलेसी तुवाचुङ नगरपालिकाको मेयर बिमला राईको पहलमा खुलाइएको हो ।
उपमेयर रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक सुनिल धाँजु लगायतको उपस्थिति रहेको हलेसी महादेव मन्दीरको व्यवस्थापन सम्वन्धी छलफलमा मेयर राईले राखेको प्रस्ताव अनुसार ताला खोलिएको हो ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न ‘कन्भिन्स’ गरेको मेयर राईले बताईन् । “हलेसी प्राकृतिक श्रोत हो ।
तर पोलिटीकल इस्यु बनाइयो । यसले राम्रो मेसेज जाँदैन,” मेयर राईले भनिन्, “ताला खोल्नका लागि प्रस्ताव राखेँ । सबै कन्भिन्स हुनुभयो ।” चार वर्षसम्म बन्द गरिएको मन्दीर व्यवस्थापन समितिको सटर खोल्दा कोठा धुलाम्मे अवस्थामा थियो ।
नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएको दुबै मन्दीर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज राई भए पनि अन्य पदाधिकारी र सदस्य हेरफेरले विवाद निम्तिएको थियो ।
कांग्रेस निकटका पदाधिकारी नगरपालिकाले सिफारिस गरेको व्यवस्थापन समितिलाई मान्यता दिनुपर्ने पक्षमा र तत्कालिन नेकपा निकट पदाधिकारी गुठी संस्थानले स्वीकृत गरेको समितिलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछिको बिवाद ताला लगाउने तहसम्म पुगेको थियो ।
हर्कराज लगायतका ५ जनाले गुठी संस्थानले स्वीकृत गरेको समितिबाट राजीनामा दिएर नगरपालिकाले सिफारिस गरेको समितिकातर्फबाट २४ भदौ २०७५ मा कार्यभार सम्हालेको दोश्रो दिन नेकपा निकटका पदाधिकारीले पनि पदभार ग्रहण गरेपछि कांग्रेस समर्थक समुहबाट ताला लगाइएको थियो ।
साँस्कृतिक सम्पदाको बिकासका नाममा गठन गरिएको समितिका पदाधिकारी पार्टीगतरुपमा विभाजित हुनुका पछाडि मन्दीरबाट संकलन हुने भेटी प्रमुख कारण रहेको कतिपयको बुझाइ छ ।