Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ : कच्चा ट्रस भवनमा अक्सिजन प्लान्ट

    खोटाङ : कच्चा ट्रस भवनमा अक्सिजन प्लान्ट


    • शनिवार, आषाढ २५ २०७९

    • नेपाल वाइड


    खोटाङ : कच्चा ट्रस भवनमा अक्सिजन प्लान्ट
    जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट । तस्विर : नेपालवाईड डटकम

    खोटाङ, २५ असार । जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल तरिकाले बनाएको पाइएको छ । प्रदेश सरकारको १ करोड ५० लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कच्चा बनेको पाइएको हो ।

    जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भने कमसल बनेको भन्दै सर्वत्र बिरोध सुरु भएको छ । ‘क्वालिटी’को ट्रस भवन नवनेकाले भवनको भुक्तानी रोक्न भनिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।

    अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको छ । तर टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको छ ।

    ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउँछन् । पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएको छ ।

    जिल्ला अस्पतालको निर्माणाधिन भवनको निर्माण सामग्री ओसार पसारका क्रममा ओहोर दोहोर गर्ने हेभीवेट गाडीको थर्कनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा पनि उत्तिकै छ ।

    “कागजजस्तो छाना नहाल । कुखुरा खोर बार्नेजस्तो तार जाली नहाल भनेको, टेरेन,” जिसस प्रमुख राईले भने, “क्वालिटीको भवन नबनेकाले भुक्तानी रोक्न कुरा गरिरहेकाछौँ । भुक्तानी गर्नुपर्ने भए भवनको बाँकी राखेर भुक्तानी गर्न सकिन्छ ।”

    अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले आवाज नउठाएका होइनन् तर निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको बताइन्छ । ट्रस भवन निर्माणका क्रममा पटक–पटक गुणस्तर कायम गर्न सुझाव दिइए पनि ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा. नितु लामा बताउँछिन् ।

    अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि शुक्रबार मेयर भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राई लगायतको टोलीले निरिक्षण गरेको छ ।

    “कमजोर संरचना बनेको छ । धकेल्दा ढल्ने पर्खाल छ । मान्छे छिर्न सक्ने ठाउँ छ । कागजजस्तो जस्ता हालिएको छ । जाली पातलो छ । पर्खाललाई अडेसा लगाएर बनाइएको छ,” मेयर भट्टराईले भने, “यस बारेमा छानविन हुनुपर्छ, बदमासी गरेको रहेछ भने निर्माण व्यवसायीलाई कारबाही हुनुपर्छ ।”

    अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा मुन रक्स इन्टरनेशनलले ठेक्का पारेको हो । मुन रक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले भने ट्रस बनाउने डिजाइन नभएको दावी गरे ।

    अक्सिजन प्लान्टको उपकरण ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको धमला बताउँछन् । “हाम्रो काम उपकरण सप्लाइ गर्ने र इन्स्टलेसन मात्र हो काम बाँकी अस्पतालको हो,” धमलाले भने, “उपकरण प्रोटेक्टका लागि ट्रस बनाइदिएका हौँ ।” अक्सिजन प्लान्टको अनुगनमाक्रममा ट्रस ‘कम्प्लेट’ गर्न बाँकी देखिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जियर कुशल दाहाल बताउँछन् । “ट्रस बनाउने दायित्व कम्पनीकै हो,” दाहालले भने, “कम्प्लेट गर्न बाँकी देखिन्छ । पुरा गर्नुपर्छ ।”

    oxygent plant_qualityless_khotang.JPG

    जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट । तस्विर : नेपालवाईड डटकम

    सम्बन्धित समाचार