बुधवार, आषाढ २२ २०७९
नेपाल वाइड
खोटाङ, २२ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा ‘च्यास्मीटार आकाशगंगा’ पुस्तकको दोश्रो अंक बिमोचन गरिएको छ ।
बौद्धिक समुह नेपाल, गोपिकृष्ण, काठ्माण्डौंले प्रकाशन गरेको ‘च्यास्मीटार आकाशगंगा २०७९’ सोमबार च्यास्मीटार माबिको प्रांगणमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले विमोचन गरेका हुन् ।
२०७६ साल जेठमा च्यास्मीटार उमाबि भूतपुर्व विद्यार्थी तथा सरोकार मञ्चको शिक्षा विभागले प्रकाशन गरेको ‘च्यास्मीटार आकाशगंगा’को दोश्रो अंक बौद्धिक समुह नेपालले प्रकाशन गरेको हो ।
१३४ पेजको पुस्तकमा शिक्षासँग सम्वन्धित लेखलाई प्राथमिकताका साथ स्थान दिइएको बौद्धिक समुह नेपालका अध्यक्ष राईले बताए । ४० वटा लेख समेटिएको पुस्तकमा बाल मनोविज्ञानमा आधारित व्यवहार परिवर्तन तथा शिक्षण सिकाई, अत्याधुनिक तथा प्राविधिक शिक्षण विधि, सिप, सिर्जना र शिक्षाको संयोजन, समाजवाद र राजनीति, ऐतिहासिक कथा तथा पर्यटन, सांस्कृतिक क्रान्ती, समाजिक तथा राष्ट्रिय चिन्तन, सामाजिक विकास, स्वतन्त्रता प्राप्ती, देशभक्ति तथा प्रेमपत्र लगायतका सम्वन्धमा चर्चा गरिएको छ ।
यस्तै, मातृथलो, स्वदेशी पेशा तथा पहिचान, भएका स्रोत तथा साधनहरुको संरक्षण, संस्मरण, सृजनशिल रचना (कविता, गजल), अनुवादका शिर्षकका लेख अध्ययन गर्न सकिन्छ ।
यस बाहेक च्यास्मीटारको वर्तमान परिस्थिती, च्यास्मीटारका सम्पूर्ण विद्यालयको स्थापना कालदेखि हालसम्म भएका गतिविधि, च्यास्मीटारमा चाम्लिङ राईहरुको वर्तमान अवस्था, चाम्लिङ भाषाको कविता, च्यास्मीटार उच्च माविमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नका लागि च्यास्मीटार उच्च माबि भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चद्वारा विभिन्न विद्याका पुस्तकहरु उपलब्ध गराएको प्रसंग र त्यसको बारेमा गरिएको प्रतिक्रियादेखि वालिकाहरुका व्यवहारिक शिक्षण सिकाई सम्बन्धि गरिएको तीन दिने कार्यशाला गोष्ठीका बारेमा चर्चा गरिएको छ ।
‘च्यास्मीटार आकाशगंगा’ विमोचन कार्यक्रममा मेयर राई, वडाध्यक्ष भुपालसिं राई, नगरका शिक्षा शाखा प्रमुख पदम कार्की, विव्यास अध्यक्ष, प्रअ लगायतले बधाई तथा शुभकाना मन्तव्य व्यक्त गरेका थिए ।
‘बिशेष गरि स्थानीय स्तरमा भएका बिद्यालयहरुको शैक्षिक अबस्थालाई उकास्दै विद्यार्थीहरुलाई सु–क्षित बनाउन त्यस ठाउँका मानिस, स्थानीय सरकार, विभिन्न क्षेत्रमा संलग्न व्यक्ति तथा सम्बन्धित बिद्यालयमा आबद्ध सबै अभिभावक एकजुट भई पूर्णरूपमा सचेत वा सु–क्षित हुन जरूरी छ,’ अध्यक्ष राईले भने, ‘त्यस कारण च्यास्मीटारमा अबस्थित् सम्पूर्ण विद्यालयका गतिविधिहरुलाई मध्यनजर गरि यो दोश्रो अंकमा उतार्ने प्रयास गरिएको हो ।
सबै विद्यालयहरुको वास्तविक वस्तुस्थितिका बारेमा थाहा भएपछि मात्र गर्नुपर्ने कर्तव्य, जिम्मेवारी तथा भूमिकाको बारे स्पष्ट हुने भएकोले लेखमा स्थानीय विद्यालयहरुलाई केन्द्रित गरिएको छ ।’




