मंगलवार, बैशाख १३ २०७९
नेपाल वाइड
खोटाङ, १३ बैसाख । कतारमा रहेका किरात समुदायले धुमधामका साथ साकेला उभौली मनाउने तयारी गरेको छ । ‘सालिवा स्यादर पिदार, यक्वा तङ्नाम, साकेला उभौली–५०८२’ को अवसरमा किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा आगामी २० मे शुक्रबारका दिन साकेला उभौली मनाउने तयारी गरिएको हो ।
यस वर्ष दोहाको नज्मास्थित शालिमार होटेलमा उभौली मनाउने तयारी गरिएको किरात राई यायोक्खा शाखा कतारका प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राईले जानकारी दिए । कतारमा पुगेका किरात समुदायले प्रवासमा हरेक वर्ष साकेला उभौली र उधौली मनाउँदै आएका छन् ।
कोरोना महामारीपछि अवस्था केही सहज भए पनि सुरक्षाको मापदण्ड अपनाउदै शुभकामना आदान–प्रदान तथा किरातीको मौलिक साँस्कृतिक झाँकी प्रदर्शन लगायत स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुतिका साथ साकेला मनाइने आयोजकले जनाएको छ ।
मुल समारोह आयोजक समितिको चक्रिय प्रणाली अनुसार सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष जनक सुनुवारको संयोजकत्व एवं नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा किरात चाड मनाइने जानकारी दिइएको छ ।
कार्यक्रममा उप संयोजक किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बू, किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष शंकरमान राई, कतार स्थित विभिन्न सामाजिक संघ सस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवि लगायतको सहभागीता रहने छ ।
उभौली किरात समुदायको महान चाड हो । उभौलीलाई किरात सुनुवार समुदायले सालिवा श्यादर पिदार, लिम्बु समुदायले यक्वा तङ्नाम र किरात राईले साकेला उभौलीका रुपमा मनाउने गर्छन् ।
किरात समुदायमा बैसाख पुर्णिमाको सिजनमा अन्नबाली लगाउने र लगाएको बालिनाली सप्रियोस् भनेर भुमी र आफ्नो पितृलाई पुज्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली/धान नाच/श्यादरसिल नाचेर उभौली मनाउने चलन छ ।