आइतवार, चैत्र २० २०७८
नेपाल वाइड
खोटाङ, २० चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएको छ । विगत केही वर्षअघिदेखि कालाजारका बिरामी देखा परेको बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा थप एक जनामा कालाजार पूष्टि भएको हो ।
खोटाङ प्रवेशद्धारका रुपमा रहेको जयरामका ९२ जनाको रगत परिक्षणका क्रममा एक जनालाई पोजिटिभ देखिएको हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।
यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार पूष्टि भएका बिरामीको संख्या चार पुगेको छ । गत साउन यता बाहुनीडाँडाको बाहुनीडाँडामा दुई जना र झाप्पामा १ जना कालाजारका बिरामी भेटिइसकेका छन् ।
कालाजारको फैलिएको आशंकामा बाहुनीडाँडाको जयराम, कदुवा र झाप्पामा १४ चैतदेखि १९ चैतसम्म समुदायमा आधारित अभिमुखीकरण सञ्चालन गर्नुका साथै २४७ स्थानीयको रगत परिक्षण गरिएको थियो ।
कालाजारको पिसिआर परिक्षणका लागि जयरामका ९२ जना, कदुवाका ७८ जना र झाप्पाका ७७ जनाको नमूना संकलन गरेर आइतबार वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए ।
नगरपालिकाको स्वास्थ्य शाखाले एसेन्ड नेपालसँगको सहकार्यमा पहिलो चरणमा कालाजारका विषयमा अभिमुखीकरण एवं रगत जाँचको व्यवस्था मिलाएको हो । अभियानमा एसेन्ड नेपालका दुई जना, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई जना, नगरको प्रयोगशाला, सम्वन्धित वडाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका खटिएका थिए ।
दोश्रो चरणमा कालाजारको बिरामी पत्ता लगाउनका लागि जिल्ला अस्पतालसँगको सहकार्यमा बाहुनीडाँडामा रगत परिक्षण गर्ने योजना बनाइएको छ ।
तेश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका र दुधकोसी पारी पर्ने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकासँगको सहकार्यमा खाल्डाखुल्डीमा किटनाशक विषादि स्प्रे गर्ने योजना बनेको सह–संयोजक घिमिरेले बताए । बाहुनीडाँडाको विभिन्न वस्तीमा २०७७ साउन यता कालाजार देखा परेको हो ।