बुधवार, चैत्र ९ २०७८
नेपाल वाइड
खोटाङ, ९ फागुन । टाउकोमा जताततै मासुका दर्जनौं डल्लो पलाएको छ । मासुको डल्लो क्रमशः वृद्धि हुँदा टाउकोमा टोपी लगाउनै असहज हुन्छ । मासुका डल्लो पिठ्यूमा पनि फैलिनेक्रम जारी छ । यो समस्या हो खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीको ।
पलाएका मासुको डल्लो रातका समयमा ‘चिरिक–चिरिक’ दुःख्ने गर्छ । पिठ्युँमा पलाएको मासुको डल्लोका कारण उत्तानो परेर सुत्न सक्दैनन् तिवारी । दायाँ वा बायाँ कोल्टो परेर रात काट्ने गरेका छन् । मासुको डल्लो बढ्ने रोग दिनानुदिन बढिरहँदा उनले आर्थिक समस्यका कारण उपचारमा जान भने सकेका छैनन् । अस्पताल गएर उपचार गराउने मन भए पनि आर्थिक अभावका कारण रोग पालेर बस्नु परिरहेको तिवारीले बताए ।
सुरुमा तिवारीको टाउकामा स–साना तीन वटा कोठी जत्रो गिर्खा पलाएको थियो । ऋणपान गरेर नर्सिङमा पुगेर काटेर फालिए । तर वरपरबाट पुःन मासुका गिर्खा पलाएर बढ्न थाले । आर्थिक समस्याले बीचमा उपचारमा जान सकेनन् ।
अहिले उनका टाउका र पिठ्यूँमा आलुको दाना जत्रा मासुको डल्लो बनेको छ । उनले मासुका डल्लोलाई टोलीले ढाक्ने गरेका छन् । शरीरमा निस्किएका डल्लो लुगाले ढाक्दा झट्ट कसैले देख्न सक्दैनन् । शरीरभरी मासुको डल्लो बढ्न थालेपछि उनलाई हाल उपचारमा जाने मन छ तर आर्थिक अवस्था कमजोर भएकाले उनी हालसम्म अस्पताल जान सकेका छैनन् ।
घरमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरीलाई पढाउने खर्च जुटाउन धौ–धौ परिरहेका बेला आफ्नो उपचार गर्ने हैसियत नभएको तिवारीले बताए । आफुलाई क्यान्सर भएको उनको अनुमान छ ।
‘खर्च जुटाएर उपचारमा जाउँला भनेको धेरै भइसक्यो । अहिलेसम्म उपचारमा जान सकेको छैन,’ तिवारीले भने, ‘अहिले रातका समयमा पीडा हुनेगरी दुःख्छ । उत्तानो सुत्न हुँदैन । उपचारका लागि वडाबाट सहयोग मिल्छ की भनेर कुरा गरिरहेको छु ।’