आइतवार, चैत्र ६ २०७८
नेपाल वाइड
खोटाङ, ६ चैत । खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई हप्तामा ४ लाख ४३ हजार भेटी आम्दानी भएको छ । गत १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी रकम जम्मा भएको हो ।
हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५०, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६०५, बसाहा थानमा राखिएको दानपेटिकाबाट ५० हजार ९७५ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हाजर ३०० रुपैयाँ आम्दानीको हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा ढ्याके सतहीबाट ४ हजार जम्मा भएको छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीबाट दुई हप्ताको अवधिमा भएको आम्दानीमध्ये १ लाख ३४ हजार ९४९८ खर्च हुँदा ३ लाख ८ हजार २८२ बचत भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
जम्मा भएको भेटी रकममध्ये विद्युत, पानी, शिवरात्री मेलामा अस्थायी कर्मचारी तलवभत्ता, गहना पहिर्याउन नौमती बाजा बजाएको पारिश्रमिक, शान्ति सुरक्षा खर्च, भेटी गणना, अतिथि, खाजा, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको जनाइएको छ ।
सूचना केन्द्रले हलेसीमा आएका दर्शनार्थी र पर्यटकले मन्दिर तथा दान पेटिकामा चढाएको रकमलाई आम्दानीका रुपमा बाँधेर आयव्याय सार्वजनिक गर्नेगरिएको छ ।
बचत भएको रकम माछापुछ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । यस अवधिमा दर्शनार्थीले भारु ३ हजार ७००, चाँदी १९.६९ तोला र सुन १.२ ग्राम चढाएको सूचना केन्द्रले जनाएको छ ।