आइतवार, चैत्र ६ २०७८
नेपाल वाइड
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ ।
पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।
यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो । बर्डफ्लु पहिचान भएका स्थानहरूमा ६५ हजारभन्दा धेरै कुखुरालगायत घरपालुवा पक्षी नष्ट गरिएको छ ।
अहिले ती जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए ।
नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बर्डफ्लुको एच ५ एन १ एभिएन इन्फ्लुएन्जा प्रजाति मानिसमा पनि सर्न सक्ने भएकाले घरपालुवा पक्षीको हेरचाहमा खटिने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लु भित्रिएको थियो । २०१९ मा बर्डफ्लु संक्रमणबाट नेपालमा २१ वर्षीय एक युवकको मृत्यु भएको थियो ।