सोमवार, फाल्गुण ३० २०७८
नेपाल वाइड
खोटाङ, ३० फागुन । खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या १ मा झरेको छ । अघिल्लो दिनसम्म ७ जना सक्रिय संक्रमित रहेको जिल्लामा आइतबार ६ संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या १ मात्र बाँकी रहेको हो ।
निको हुन बाँकी रहेको सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए ।
आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार १५ जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी हालसम्म ३ हजार ४९३ जनालाई संक्रमण पूष्टि हुँदा निको हुनेको कुल संख्या ३ हजार ४४९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्राको र १ लाख ७ हजार ४२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ ।
यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।