शुक्रवार, फाल्गुण २७ २०७८
नेपाल वाइड
खोटाङ, २६ फागुन । जिल्ला प्रशासन कार्यालय खोटाङले हलेसीमा गुरुयोजना लागू गर्नेक्रममा मुआव्जा तथा क्षतिपुर्ती उपलव्ध नगराइ जग्गा रोक्का राखिएको विषयमा हलेसी तुवाचुङ नगरपालिकासँग राय प्रतिक्रिया माग गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीको गुरुयोजना लागू गर्नेक्रममा घर, टहरा र जग्गा धनीले कुनै पनि प्रकारको मुआव्जा क्षतिपुर्ती उपलव्ध नगराइ जग्गा रोक्का राखिएको विषयमा प्रशासनले नगरपालिकासँग राय प्रतिक्रिया माग गरेको हो ।
हलेसी गुरुयोजना लागू गर्नेक्रममा हलेसी मन्दीर (गुफा)लाई केन्द्र मानेर दुई सय मिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने निर्णयसँगै दुई वर्षदेखि रोक्का राखिएको जग्गा फुकुवाको माग गर्दै गत ४ फागुनमा स्थानीयले निवेदन दिएपछि प्रशासनले नगरपालिकाको राय प्रतिक्रिया मागेको जनाएको छ ।
११ र १२ माघ २०७६ मा बसेको हलेसी गुरुयोजना निर्माण समितिको बैठकले हलेसी मन्दीर (गुफा)लाई केन्द्र मानेर दुई सय मिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने, त्यस क्षेत्रभित्रको घर टहरालाई सम्मानजनक मुआव्जा/क्षतिपूर्ती उपलव्ध गराएर खाली पार्ने, हलेसीको २६ रोपनी जग्गाभित्र जुनसुकै साना तथा ठूला संरचना निर्माणमा रोक लगाउने, अत्यान्त स्वभाविक र गुरुयोजनाले तोकेको संरचना मात्र निर्माण गर्ने निर्णय गरेको थियो । सो निर्णयको आधारमा नगरपालिकाले १२ माघ २०७६ मा जग्गा रोक्काका लागि मालपोतलाई पत्राचार गरेको थियो ।
हलेसी तथा हलेसी आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर बिकासका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजकत्वको हलेसी गुरुयोजना निर्माण समितिले गुरुयोजनालाई २०७६ माघमा अन्तिम रुप दिएको थियो ।