बुधवार, फाल्गुण २५ २०७८
नेपाल वाइड
खोटाङ, २५ कात्तिक । खोटाङमा गोरुले हान्दा एक गम्भीर घाईते भएका छन् । गोरुले हान्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राई गम्भीर घाईते भएका हुन् ।
उनलाई चराउन लगेको बेला गोरुले बुधबार बिहान हानेको हो । गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् । मलका लागि आफन्तबाट ल्याएर पाल्न थालेको केही दिनपछि राईलाई गोरुले हानेको हो ।
घाइतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पताल दिक्तेलमा इमरजेन्सी अपरेसन गरेर पुर्ववत अवस्थामा फर्काइएको छ । यद्यपी, उनी खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । उनको बाहिर निस्केको आन्द्रालाई पुर्ववत अवस्थामा फर्काउन डा. केके राई लगायतको टोलीले अपरेसन गरेका थिए ।
घाइते राई शारीरिक रुपमा अपांग छन् । उनी बोल्न सक्दैनन् भने हिँडडुल गर्दा खुट्टा लरबरिने गर्छ । आर्थिक अवस्था कमजोर भएका घाईतेको उपचारका लागि जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बू लगायतका छिमेकी तथा शुभेच्छुक आर्थिक सहयोग संकलन अभियानमा जुटेका छन् । आफै उपचार खर्च जुटाउन सक्ने आर्थिक अवस्था नभएकाले सहयोग उठाएरै उनको उपचार गर्ने तयारी गरिएको नेता खम्बूले बताए ।