शुक्रवार, फाल्गुण १३ २०७८
नेपाल वाइड
खोटाङ, १३ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी सुत्केरी सलिता भण्डारी बिहिबार १६ दिनको नवजात शिशु कख्याएर दुध चुसाइरहेकी थिईन् ।
त्यहीबेला गाउँघरका महिलाको टोली पोषिलो खानेकुरा सहित सलिताको घरमा पुगे । टोलीमा कसैले चामल बोकेका थिए, कसैले फलफुल र गेडागुडीको पोको बोकेका थिए ।
‘सुत्केरी भेट’ कार्यक्रम अन्तरगत स्वास्थ्यचौकी खाल्ले र स्थानीय पञ्चरंगी आमा समुहको सहकार्यमा महिलाको समुहले सुत्केरीलाई पोषिलो खानेकुरा सहित भेटघाट गरेका हुन् । उनीहरुले आफ्नो गाउँठाउँमा उपलव्ध हुने भाले, चामल, दाल, सागपात, अण्डा, मुन्टा, गुन्द्रुक, केरा लगायतका पोषिलो परिकार संकलन गरेर सुत्केरीलाई प्रदान गरेका छन् ।
आमा समुहमा आवद्ध महिलाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाभको कामना गरे अनि आमा र नवजात शिशुको स्वस्थ स्वास्थ्यका लागि सावधानीका उपाय बारे सल्लाह दिएर फर्किएका छन् ।
२४ वर्षीया भण्डारीले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सुत्केरी भेटका क्रममा वडाध्यक्ष डिल्ली चाम्लिङ, स्वास्थ्यचौकी खाल्लेका अनमी हिरामायाँ दाहाल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहका सदस्य लगायत पुगेका थिए ।
सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पुर्ती गर्दै आमा र बच्चाको स्वस्थ स्वास्थ्यका लागि खाल्लेमा २०७६ चैतदेखि पोषिलो खानेकुरा लिएर ‘सुत्केरी भेट’ गर्ने कार्यक्रम सुरु गरिएको स्वास्थ्यचौकी खाल्लेका एचए सन्तोष भट्टराईले बताए । निर्धारित कार्यक्रम अनुशार गाउँका गर्भवती महिलालाई कम्तीमा एक पटक र सुत्केरीलाई पनि कम्तीमा एक पटक पोषिलो खानेकुरा सहित भेटघाट गर्ने प्रचलन बसाइएको छ ।
खाल्लेमा साविकको ९ वडामा क्रियासिल आमा समुहले सुत्केरी भेटको व्यवस्था मिलाउने गरेको छ । सुत्केरी भेटकाक्रममा गाउँमै पाइने पोषिलो थोकवस्तु जुटाएर लैजाने गरिएको छ । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार–व्यवहारको सुनिश्चितता गर्ने सोच अनुशार सुत्केरी भेट कार्यक्रम सुरु गरिएको स्वास्थ्यचौकीले जनाएको छ ।
आमा समुहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढि लाभान्वित भएका छन् । गाउँघरमै पाइने पोषिलो आहार जुटाउन कम खर्चिलो र स्वास्थ्यका लागि लाभदायक हुने एचए भट्टराईले बताए ।
‘यो सुनौला हजार दिन सम्वन्धी व्यवहारलाई प्रवद्र्धन गर्ने आमा समुहको अभियान हो । यसले हरेक बार खाना चार भन्ने नारालाई पनि व्यवहारमा उतार्न सहयोग पुर्याउँछ,’ भट्टराईले भने, ‘सुत्केरी भेटकाक्रममा पोषणयुक्त खाना, सन्तुहित आहार, वाल प्रेरणा, खोप सेवा, सरसफाइ, आमा र बच्चाको बृद्धि अनुगमन लगायतका विषयमा पनि सूचना र सन्देश प्रवाह गर्ने अवशर पनि जुटिरहेको छ ।’