शुक्रवार, फाल्गुण १३ २०७८
नेपाल वाइड
खोटाङ, १४ फागुन । खोटाङको त्रि–धार्मिक स्थल हलेसी मन्दिरबाट तीन आर्थिक वर्षभित्र ७७ लाख ६ हजार ४३८ रुपैयाँ जम्मा भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिरबाट आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा १ करोड ९२ लाख ३७ हजार ४८८ आय र १ करोड १५ लाख ३१ हजार ५० व्याय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसी मन्दिरमा आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ आय र ४२ लाख ४२ हजार ३५० व्याय, आर्थिक वर्ष २०७६/०७८ मा ५३ लाख ८९ हजार ८६९ आय र ४० लाख ६२ हजार ५२१ व्याय तथा आर्थिक वर्ष २०७७/०७८ मा ५१ लाख २८ हजार ४०४ आय र ४२ लाख २६ हजार १७९ व्याय भएको छ ।
भेटी वापत जम्मा भएको रकम हलेसी मन्दिर व्यवस्थापन समितिको माछापुछ«े बैंकको हलेसी शाखामा खोलिएको खातामा मौज्दात रहेको जानकारी दिइएको छ ।
यस्तै, हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेसी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदी भने हालसम्म सुरक्षित राखिएको छ । हलेसी सूचना केन्द्रका अनुसार भारु १ लाख ८८ हजार ६३८, अमेरिकी डलर ९४, सिंगापुर डलर १०, भुटानी १ हजार २७१, हङकङ डलर २०, कतारी रियल २ र चाइनिज ऐन १४३ जम्मा भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा चाँदी ५१.२८ तोला र सुन ०.२१ तोला (टिका), आर्थिक वर्ष २०७६/०७७ मा चाँदी २६.९९७ तोला, सुन १ तोला (औंठी), सुनको टिका ०.२७२ तोला तथा आर्थिक वर्ष २०७७/०७८ मा चाँदी १ केजी (बुनिया काँचो चाँदी), चाँदी ६६४.५७ ग्राम र सुन २१.२२ ग्राम (१ तोलाको सिक्री सहित) चढाइएका छन् । हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेसी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रुपमा हिसाव राख्ने गरिएको छ ।