शुक्रवार, माघ २८ २०७८
नेपाल वाइड
खोटाङ, २८ माघ । जिल्ला अस्पताल खोटाङको स्तरोन्नतीका क्रममा निर्माण सुरु गरिएको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको छ । १५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार ५० शैयाको भवन निर्माणका क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो ।
निर्माण कम्पनी श्यामसुन्दर/रामसागर नेपाल/फूलवारी जेभीको लापरवाहीका कारण जिल्ला अस्पतालको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको स्थानीयले बताएका छन् ।
१ बैसाख २०४९ मा स्थापना गरिएको अस्पतालको स्तरोन्नतीका क्रममा ४० मिटर लम्बाई र २०.५ मिटर चौंडाई भएको भवन निर्माण गर्ने सम्झौता छ ।
सोही सम्झौता अनुसार जिल्ला अस्पतालको बिरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रीया कक्ष, इमरजेन्सी वार्ड लगायत रहेको पुरानो भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको हो । तर सोही भवन बन्ने जग्गाको भित्तामा निर्माण सुरु गरिएको पर्खाल सामान्य वर्षाकै कारण २१ माघमा भत्किएको हो ।
कुल लम्बाई २७ मिटर र उचाई ७ मिटर हुने पर्खालको जगभन्दामाथिबाट करिब ६/७ मिटर खण्ड भत्किएको छ । मसला कम हालेका कारण नयाँ पर्खालको बीचभागमै भत्किएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।
५० शैयाको नयाँ भवन निर्माणको काम सम्पन्न नभएसम्मका लागि उपचार सेवालाई निरन्तरता दिन सो मेसिनरी वालभन्दा माथि प्रि–फ्यावको डिक्यान्टिङ भवन बनाएर बिरामी राख्ने वार्ड बनाइएको छ ।
तर, सोही डिक्यान्टिङको पेटीमुनिको टेवा पर्खाल भत्किएपछि बिरामी वार्ड समेत जोखिममा परेको छ । बिरामी वार्ड राखिएको डिक्यान्टिङको प्यासेज (पेटी) र रेलिङ पर्खालसँगै ढलेको छ । निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुःननिर्माण सुरु गरेको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले बताए ।
करिब २१ करोडको लागतमा ३० महिनाभित्र ५० शैयाको भवन निर्माण सक्नेगरी गत असारमा ठेक्का सम्झौता गरिएको हो । संघीय सरकारले संघीय सरकारको शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगामार्फत बजेट पठाएपछि गत ३ भदौदेखि अस्थायी वार्ड बनाउन घडेरी सम्याउन सुरु गरिएको थियो ।
५० शैयाको चार तले भवनको पहिलो तलामा ओपिडि कक्ष, इमरजेन्सि कक्ष, इमरजेन्सि अपरेसन कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रुम बनाइने छ । दोश्रो तलामा प्रशुती सम्वन्धी सेवा तथा प्रशुती सम्वन्धी अप्रेसन, तेश्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याविन वार्ड तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हल लगायतका संरचना निर्माण गरिने जनाइएको छ ।