उदयपुर । जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आइसीयुसहितको भेन्टिलेटर सञ्चालनको तयारी गरिएको छ । कोभिडको दोस्रो भेरियन्टको समयमा स्थापना गरिएको आइसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्न एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए ।
दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गत वर्ष उदयपुर अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा दिने तयारीका जडान गरिएको हो । त्यस बेला रातारात गरेको तयारी जनशक्ति अभावका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।
आइसियु र भेन्टिलेटर जडान गरेको डेढ वर्षपछि आवश्यक जनशक्ति सरुवा भई आएपछि आइसियु सञ्चालन हुने भएका हुन् । जटिल खालका कोभिड संक्रमित बिरामीलाई विराटनगर, धरान र काठमाडौं रिफर गर्दा समस्या हुने र भनेका समयमा बेड नपाउने भएकाले जिल्लावासीलाई बचाउन नसकिएपछि जिल्लामै आइसियु र भेन्टिलेटर सुविधाको तयारी थालेका थिए ।
प्रदेश सरकारको १ करोड बजेटबाट आवश्यक सामग्री खरिद गरी अस्पतालमा आइसियु र भेन्टिलेटरका उपकरण जडान गरिए पनि पटक पटक प्रयास गर्दा समेत दक्ष जनशक्ति ल्याउन नसक्दा यन्त्र उपकरण सबै थन्केर बसेको थियो ।
अस्पतालमा केही दिन अघि मात्र दक्ष जनशक्ति आएपछि आइसियु सेवा सुरु लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.मुकेश झाले जानकारी दिए । डा.झासहित १० जना विशेषज्ञ (कन्सल्टेन्ट) डा.भर्खरै अस्पतालमा सरुवा भएर आएपछि आइसियु र भेन्टिलेटर सञ्चालनको तयारी थालेका हुन् ।
अस्पतालमा प्रसूति विशेषज्ञ डा. झा, हाडजोर्नी विशेषज्ञ डा.सशिरन्जन प्रधान, बिशेषज्ञद्वय एनेथेसिया (बेहोस पार्ने) डा.विशाल देव र कौशल तामाङ, जेनेरल फिँजिसिएन विशेषज्ञ डा. राहुल रौनियार सरुवा भई आएका छन् । त्यसगरी इन्टरनल मेडिसिन विशेषज्ञ डा.अमरेश महतो, डेन्टल सर्जन बिशेषज्ञद्वय डा.नारायण श्रेष्ठ र बेन्जु श्रेष्ठ तथा प्रसूतिकै विशेषज्ञ डा। रितेशराज कर्ण रहेका छन् । मेसु झा सहित जिल्ला अस्पतालमा विशेषज्ञ डा.को संख्या १० जना पुगेको छ ।
१० वर्षअघि ५० शय्यामा स्तरोन्नति गरिएको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक आएका थिए । विशेषज्ञ डा.दरबन्दी रहे पनि मन्त्रालयले सरुवा नपठाउँदा अस्पतालले क्षमता अनुसारको सेवा दिन सकेको थिएन । रातोपाटी ।