Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    खोटाङ : दर्जनौं विद्यालयको निर्माणाधिन भवन वर्षौंदेखि अलपत्र

    खोटाङ : दर्जनौं विद्यालयको निर्माणाधिन भवन वर्षौंदेखि अलपत्र


    • शनिवार, माघ ८ २०७८

    • नेपाल वाइड


    खोटाङ  :  दर्जनौं विद्यालयको निर्माणाधिन भवन वर्षौंदेखि अलपत्र
    फिसिङको काम बाँकी रहेको दुर्छिम मावि दुर्छिमको भवन ।

    खोटाङ, ८ माघ । खोटाङका दर्जनौं विद्यालयका भवन निर्माणको काम वर्षौंदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७२/०७३ को बीचमा तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएको विद्यालयको भवन अलपत्र परेको हो ।

    अनियमितता, विव्यास र विद्यालयभित्रको आन्तरिक द्धन्द्ध, अख्तियारमा परेको उजुरी लगायतका कारण चार कोठ, छ कोठे र आठ कोठे भवन निर्माणको काम अलपत्र परेको हो ।

    कतिपय विद्यालयको भवन निर्माणको काम पुरा भएपनि अख्तियारमा परेको उजुरीको किनारा लाग्न नसक्दा फरफराक रोकिएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए ।

    अर्कातर्फ कतिपय विद्यालयको भवन निर्माणकै क्रममा स्थानीय सरकार कार्यान्वयनमा आए । तर, स्थानीय सरकारले त्योभन्दा अघि सुरु भएका योजनाको प्राविधिक मूल्यांकनमा अग्रसरता नदेखाउँदा पनि भवनको फरफारक हुन नसकेको विद्यालयले जनाएको छ ।

    दुई वर्षमा पूरा गर्नेगरी आर्थिक वर्ष २०७१/०७२ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको लक्ष्मी माबि बडहरेको चार कोठे भवन अलपत्र छ । फाउण्डेसन उठाएर टाई बिमसम्मको काम गरिए तर स्टीमेट विपरित काम भएपछि सो भवनको काम हालसम्म अलपत्र छ ।

    यस्तै, आर्थिक वर्ष २०७०/०७१ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको जनता मावि बतासेको चार कोठे भवनको काम हालसम्म अलपत्रको अवस्थामा छ । भवन निर्माणका लागि सबै भुक्तानी लगिसकेको भए पनि भवनको पहिलो तला ढलान गरेर दोश्रो तला निर्माणकैक्रममा अलपत्र बन्न पुगेको हो ।

    यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको याङसोला मावि छोरम्बुको पहिलो तला ढलान नहुँदै भवन निर्माणको काम अलपत्र परेको छ । हाल सो भवनको बाँकी काम पुरा गर्नका लागि विद्यालय परिवारले अग्रसरता देखाएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गौतमले बताए ।

    आर्थिक वर्ष २०६९/०७० मा विनियोजित २४ लाखमा दुर्छिम मावि दुर्छिमको चार कोठे भवन निर्माण गरियो । तर, अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि सो भवनको फिनिसिङदेखि फरफराकको काम हालसम्म अड्किएको छ ।

    यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा विनियोजित २४ लाखमा च्यास्मीटार माविको चार कोठे भवन ठड्याइयो तर फिनिसिङको काम नहुँदै अख्तियारमा उजुरी परेपछि सो भवनको फरफारक अघि बढ्न नसकेको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

    यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको गंगोद्धय मावि दुबेकोलको आठ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेर अलपत्र छ ।

    आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको सप्तकन्य माबि चिप्रिङको आठ कोठे भवन फिनिसिङ नहुँदै अलपत्र छ । हाल सो भवनको बाँकी काम पुरा गर्न विद्यालय परिवार तातेको जनाइएको छ । आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा कालिका माबि बाकाचोलको आठ कोठे भवन निर्माण गरिए तर अख्तियारमा उजुरी परेकाले सो भवन छानविनकै क्रममा रहेको छ ।

    यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ४८ लाखमा भगवती मावि खोटाङबजारको छ कोठे भवन निर्माण गरियो तर अनियमितताको आशंकामा अख्तियारमा उजुरी परेको छ । १९ लाख ५० हजारमा सरस्वती मावि छितापोखरीको तीन कोठे भवन बनाइएको थियो तर अख्तियारमा उजुरी परेकाले फरफराककै काम हालसम्म अड्किएको जनाइएको छ ।

    सम्बन्धित समाचार