Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    पाँच स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र

    पाँच स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र


    • बिहिवार, माघ ६ २०७८

    • नेपाल वाइड


    पाँच स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र
    ७ महिनादेखि अलपत्र परेको स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडाको भवन ।

    खोटाङ, ६ माघ । खोटाङमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको काम ७ महिनादेखि अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको हो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) बबरमहल, काठमाडौँबाट टेण्डर भएर जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत सुरु गरिएको पाँच स्वास्थ्यचौकीको भवन गत साउनदेखि ठप्प बनेको छ ।

    भ्याट सहित ७ करोड ४० लाख, ८४ हजार २९६ रुपैयाँमा पुरा गर्नेगरी गौरी पार्वती–न्यू टेक्नीकल जेभी, ललितपुरले स्वास्थ्यचौकीको डेढ तले भवन निर्माणको ठेक्का लिएको थियो । आगामी ८ चैतसम्ममा भवनको काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत १० मंसिर २०७७ मा ठेक्का सम्झौता गरेको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ ।

    हालसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मंगलटार, बतासे र राखाबांदेल स्वास्थ्यचौकी भवनको स्ट्रक्चरको काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु नभएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए । ‘असार मसान्तसम्म काम भयो । केही भवनको प्लाष्टर पनि गरिएको छ ।

    सोही अनुसार भुक्तानी पनि भयो,’ इन्जिनियर मण्डलले भने, ‘त्यस यता भवन निर्माणको काम बन्द छ । काम सुरु गर्न पत्रारचार पनि गरेका छौँ तर कुनै रेस्पोन्स आएको छैन ।’ मूख्य ठेकेदारले दोश्रो ठेकेदार र दोश्रोले तेश्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अलपत्र परेको कार्यालयले जनाएको छ ।

    दोर्पाचिउरीडाँडाका होटल व्यवसायी तथा कामदारले भवन निर्माणको काम गरिरहेको ठेकेदारबाट पाउनुपर्ने भुक्तानी पनि हालसम्म पाएका छैनन् । निर्माण कम्पनीका प्रतिनिधिले होटलमा खाना खाएको पैसा हालसम्म नतिरेको र भवन निर्माणमा श्रम गरेका कामदारले पारिश्रमिक नपाएको जानकारी आएको इन्जिनियर मण्डलले बताए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना अन्तरगत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत अघि बढेको स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मेवारी हाल सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सरेको छ ।

    गत १ असोजदेखि पुनर्निर्माण प्राधिकरण अन्तरगतको भवनको जिम्मेवारी सघन शहरी विकास तथा भवन निर्माण आयोजनामा सरेपछि स्वास्थ्यचौकी भवन निर्माणको काममा अप्ठ्यारो आइपरेको निर्माण कम्पनीको दावी छ ।

    सम्बन्धित समाचार