बिहिवार, माघ ६ २०७८
नेपाल वाइड
खोटाङ, ६ माघ । कोभिड–१९ को संक्रमण पुःन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि)को बैठकले कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै जिल्लाका १० वटा स्थानीय तहका विभिन्न स्थानमा साप्ताहिक तथा पाक्षिक रुपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दोश्रो लहरपछि लाग्न थालेका हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पुःन अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरेको जनाएको छ ।
जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानी लगायतका ठाउँमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपज लगायतका स्थानीय उत्पादन विक्री गरेर जिवीका चलाउने स्थानीय मारमा पर्ने गरेका छन् ।
कोरोनाको संक्रमण वृद्धि भइरहँदा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको पाइएको छ । कोरोनाको संक्रमबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ बढ्दो रहेको देखिएको छ ।
न्यूनतम दुई मिटर भौतिक दुरी कायम गर्न भनिए पनि सोको पालना हुन सकेको देखिन्न । मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ । संक्रमण विरुद्धको प्रतिकार्य तथा पुर्वतयारी योजना बनाउनमा स्थानीय सरकार तातेको देखिन्न ।