बुधवार, पौष २८ २०७८
नेपाल वाइड
खोटाङ, २८ पुस । खोटाङमा कोभिड–१९ को संक्रमण दर आँकलन तथा विश्लेषण गर्न सहजीकरण समुह गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल संयोजकत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बुधबार बसेको बैठकले कोभिड–१९ को संक्रमणको आँकलन तथा बिश्लेषण गरी समन्वय गर्न सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समुह गठन गरेको हो ।
दिनानुदिन बढिरहेको कोभिड–१९ को संक्रमण दरको अवस्था आँकलन तथा बिश्लेषण गरी न्यूनीकरणमा समन्वय गर्नका लागि सहजीकरण समुह गठन गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
सहजीकरण समुहको सदस्यमा गोरखनाथ गण मुडे व्यारेकका सेनानी झनक थापा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाह, शसस्त्र प्रहरी वल हलेसी गुल्मका सहायक प्रहरी निरिक्षक जीवन खतिवडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सञ्जिव दाहाल, जिल्ला अस्पतालका मनिष पौडेल र स्वास्थ्य कार्यालयका भीष्म पाण्डेय चयन भएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आगामी ७ माघदेखि सार्वजनिक निकाय तथा सार्वजनिक स्थानमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।
कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क लगायतका प्रवेशका लागि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो । साथमा खोप कार्ड नभए मोबाईलमा चिखेको खोप कार्डको तस्बिर देखाएर पनि सार्वजनिक निकाय तथा सार्वजनिक स्थानमा प्रवेश गर्न मिल्ने प्रशासनले जनाएको छ ।
यस्तै, २५ जनाभन्दा बढीको उपस्थिति रहने मेला, भेला, महोत्सव एवं सामाजिक लगायतका कार्यहरुमा रोक लगाउने निर्णय गरिएको छ ।
सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, सामाजिक वा त्यस्ता प्रकृतिका कार्यक्रम नगर्न/नगराउन भनेको छ । अत्यावश्यक तथा नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।
डिसिएमसीले राजनैतिक, आर्थिक, सामाजिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, पटक–पटक सावुन पानीले हात धुने वा सेनीटाइजरको प्रयोग गर्ने र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न/गराउन आग्रह गरेको छ ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा अनिवार्य मास्क प्रयोग गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न भनिएको छ । सेवाग्राहीको चाप हुने कार्यालयहरुले भिडभाड नहुनेगरी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने छ ।
सार्वजनिक सवारी साधनमा स्वीकृत सिटभन्दा बढी यात्रु राख्न नहुने, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, यातायात व्यवसायीले सवारी साधनको ढोकामा सेनीटाइजरको व्यवस्था गर्नुपर्ने छ । मास्क नलगाउने यात्रुलाई सवारी साधन प्रवेशमा रोक लाग्ने छ ।
यस्तै, चालक र सह–चालकले अनिवार्य मास्क, भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने छ भने सवारी साधनलाई दैनिक सेनीटाइज गर्नुपर्ने डिसिएमसीको निर्णयमा उल्लेख छ ।