सोमवार, पौष २६ २०७८
रमेश लोवात्ती पिल्मो राई
खोटाङ, पुष २६ गते । विभिन्न अनलाइन छापाहरूमा प्रकाशित राईसम्बन्धी लेख देख्नै नसक्ने एकजना 'टिप्पणीकार' देखापरेका छन्- निनाम लोवाती मङ्गले । लेखमा व्यक्त दृष्टिकोणप्रति सहमति वा असहमति जनाउनु व्यक्तिको अधिकार हो ।
तर, 'टिप्पणी' पढ्दा उनको हैसियत चाहिँ त्यति होइन भन्ने महसुस हुन्छ । उनलाई कुलुङ समुदायका केही व्यक्तिद्वारा राईविरुद्ध परिचालित गरिएको हो कि भन्ने उनको 'टिप्पणी'को भाषाले देखाउँछ ।
उनले आफ्नो 'टिप्पणी'मा राईसम्बन्धी लेख लेख्ने लेखकको हातै काटेर फालुँलाझैँ गरेर झम्टिने गरेको देखिन्छ । आफूलाई मन नपरेको विषय अरूलाई मन पर्नु हुँदैन भन्ने यस प्रकारको सोचाइ निरङ्कुशता हो ।
जातिको नामकरण पेसा, ठाउँको नाम, पद, पुर्खाको नाम आदिबाट सिर्जना गरिएको पाइन्छ । उदाहरणका लागि कोइराला बगानमा उद्गम भएकोहरूको पहिचान कालान्तरमा कोइराला रहन गयो । निरौली भूमिमा उद्गम भएकोहरूको पहिचान निरौला भयो । खपतड भूमिमा उद्गम भएका बस्नेतहरू खबतडी बस्नेत भए । त्यस्तै चालिम भन्ने पुर्खाका सन्तानहरू पुर्खाको नामबाट चामलिङ भए ।
त्यस्तै चरो मार्ने पेसा भएकाहरू चिरियामार भए । डुँगा खियाउने माझी पेसा भएकाहरू माझी भए । माटाको भाँडाबर्तन बनाउने कुमाल पेसा भएकाहरू कुमाल भए । सरकारी भण्डारमा सरसमान भण्डारणको जिम्मेवारी भएका व्यक्तिका सन्तानहरू भण्डारी भए ।
धेरै टाढाको कुरा किन ? जङ्गबहादुर कुँवरले राज्यको बागडोर सम्हाल्ने व्यक्तिको पद राणा सिर्जना गरेर आफूले सर्वप्रथम राणा पद धारण गरेका थिए । त्यो इतिहास १ सय ७८ वर्ष पनि पुगेको छैन । उनका सन्तानहरू अहिले राणा भएका छन् । कतिसम्म भने जङ्गबहादुर राणाका सन्तानहरूले त नामको पछाडि ज.ब.रा. अर्थात् जङ्गबहादुर राणा नै लेख्ने गरेका छन् । जङ्गबहादुरका सन्तानबाहेक अरूले राणा लेख्दैनन्, कुँवर लेख्ने गरेका छन् ।
विभिन्न समुदायबीच एकअर्कोलाई सम्बोधन गर्ने नाम नै कालान्तरमा समाजले स्वीकार गर्दा जातिनाम वा थर बन्ने गरेको देखिन्छ । यो कुरा माथि दिइएका केही उदाहरणबाटै स्पष्ट हुन्छ- कोइरालाले सुरुवातमा आफूलाई कोइराला भनेका होइनन्, भण्डारीले आफूलाई सुरुमा भण्डारी भनेका होइनन् । कालान्तरमा कोइराला, भण्डारी हुन पुगेका हुन् ।
डाँडामा घर बनाएर बस्नेलाई डाँडाघरे भनेर समाजले सम्बोधन गर्दै जाँदा कालान्तरमा आफैले पनि डाँडाघरे भन्नुपर्ने हुन्छ । कुनै समयमा हजार रुपैयाँको खेलो फर्को गर्ने व्यक्तिलाई सम्पन्न मानेर हजारी भनिन्थ्यो र हजारी भनेर चिनिन्थ्यो । समाजले हजारी भन्दाभन्दै उनको परिचय हजारी हुन पुगेको ठाउँठाउँमा आझै पनि भेटिँदै छ ।
ठूलो व्यापारीले लिनदिन गर्दा पैसा मिलाएर राख्न नभ्याउँदा मकैको खोस्टा झैं थैलोमा पैसा खाँदेर राख्ने गरेकोले खोस्टे व्यापारी भन्ने गरियो । खोस्टे व्यापारी शब्दले समाजमा व्यापकता पाएपछि आफूले पनि खोस्टे व्यापारी भनेर परिचय दिने गरेको भेटिन्छ ।
त्यस्तै परिवेशमा राई पदमा आसिन व्यक्तिको सन्तानहरूलाई पनि समाजले राई भनेर सम्बोधन गर्दै ल्याउँदा कालान्तरमा राई जातिमा स्थापित हुन पुगेको इतिहासले देखाएको छ । तर, जातिनाम बन्न पुगेको 'राई' शब्दको आफ्नै सम्मानजनक इतिहास छ
। नेपाली बृहत् शब्दकोशअनुसार राई भनेको राजाबोधक शब्द हो ।
पूर्वी नेपालमा चाहिँ सेन राजाहरूले राय भनेर शासनप्रशासनका प्रमुख व्यक्तिलाई भन्ने गरेको देखिन्छ । शासनप्रशासन सञ्चालन गर्नेहरू नै कालान्तरमा राई बन्न पुगे । त्यसरी राई जातिनाम बन्न पुग्यो भन्ने इतिहासको तथ्य हो । किरातीहरू इतिहासका शासकहरू नै हुन् र राई शब्दले उनीहरूको राजकीय इतिहासको स्मरण पनि गराइरहेको छ ।
यी उदाहरणहरूबाट स्पष्ट हुन्छ- समाजले निरन्तर सम्बोधन गर्दै लगेपछि भावी पुस्ताले स्वीकार गरेर पहिचान बनाउने गरेको देखिन्छ । कुनै पनि समुदायद्वारा नामकरण गरेर सम्बोधन नगरिएको शब्द एक्कासी जातिमा रूपान्तरण भएको शायद विरलै
भेटिन सक्छ ।
तर कसरी र कस्तो परिवेशबाट जातिनाम सिर्जना हुन्छ भन्नेबारे 'टिप्पणीकार'लाई खासै जानकारी भएजस्तो देखिँदैन । कुनै पनि शब्द जातिको रूपमा स्थापित हुन लामो समय लागेको हुन्छ भन्ने हेक्का नराखी 'टिप्पणीकार'ले पटमूर्ख स्वभावको परिचय प्रस्तुत गरेका छन् । ती टिप्पणीकारले राईसम्बन्धी लेखमा २० वटासम्म अर्थहीन टिप्पणी लेख्ने गरेका छन् ।
सर्वविदित कुरा हो- हिन्दी भाषा हुन्छ तर हिन्दी जाति हुँदैन । उर्दु भाषा हुन्छ तर उर्दु जाति हुँदैन । मैथिली भाषा हुन्छ तर मैथिली जाति हुँदैन । उडिया भाषा हुन्छ तर उडिया जाति हुँदैन । भोजपुरी भाषा हुन्छ तर भोजपुरी जाति हुँदैन । इङ्ग्लिस भाषा हुन्छ तर इङ्ग्लिस जाति हुँदैन । यी उदाहरणबाट स्पष्ट हुन्छ- जाति र भाषाको नाम एउटै हुनुपर्छ भन्ने अनिवार्यता हुँदैन जसरी 'टिप्पणीकार'ले टिप्पणीमा भन्ने गरेका छन् ।
'टिप्पणीकार'लाई यति कुरा थाहा भएको भए सायद उनले अनर्थ टिप्पणी गर्दै हिँड्ने थिएनन् । राई जातिको स्वतन्त्र भाषा र संस्कृति नभएको प्रचार गर्दै टिप्पणीकारले 'राई' शब्दलाई जातिनाम मान्न नहुने भ्रम फैलाउने काम गर्न खोजेका छन् ।
यदि 'टिप्पणीकार'ले भनेझैं तर्क गर्ने हो भने त कुलुङ भनेको ठाउँको नाम हो । कुलुङ ठाउँको नाम भएपछि ठाउँले भाषा बोल्छ भन्नु स्वभाविक हुन्छ कि हुँदैन ? त्यस्तै ठाउँको नामबाट कुलुङ भाषा, कुलुङ संस्कृति र कुलुङ जाति भन्नु कति सान्दर्भिक हुन्छ ? भूमिको भाषा हुन्छ भन्नु वैज्ञानिक तर्क ठहरिन सक्छ ?
त्यसैले 'टिप्पणीकार'लाई प्रतिप्रश्न छ- कुलुङ भनिने ठाउँको नामलाई आधार बनाएर भाषा, संस्कृति र जातिको नाम कुलुङ राख्न हुन्छ भने पुर्खाले सम्हाल्ने अवसर पाएको गरिमामय पदको नाम राईलाई आधार बनाएर जाति बनाउनु किन हुँदैन ? बरु पुर्खाको वीर गाथाले भरिएको ऐतिहासिक जातिनाम प्रयोग गर्नुमा गर्व गर्नुपर्छ ।
एउटै पुर्खाका सन्तान विभिन्न क्षेत्रमा छरिएर विकास भएकोले राईहरूको भाषा र संस्कृतिमा हल्काफुल्का फरक पर्न गएको शोधकर्ताहरूको प्रतिवेदनमा पाइन्छ । धेरैजसो राईहरूको भाषा र संस्कृतिमा एकरूपता रहे तापनि नाम चाहिँ अलगअलग
राखिएको पाइन्छ ।
वर्तमान अवस्थामा स्थापित भइसकेको जातिनाम राई स्वीकार गर्दा समुदायले भविष्यमा के के हानी-नोक्सानी ब्यहोर्नुपर्दछ ? राईभित्रको अनेकतालाई एकता गर्दा केके बेफाइदा हुन्छ ? यस विषयमा टिप्पणीकारले ठोस कुरा केही प्रस्तुत गर्न सकेका छैनन् ।दलित (कामी, दमाई, सार्की इत्यादि), क्षेत्री र बाहुन यी थरिथरि जातिको आआफ्नो स्वतन्त्र भाषा छैन तर आपसमा तेरोमेरो मातृभाषा भनेर झैँझगडा पनि गरेका छैनन् ।
त्यसैगरी ढुङ्गाको भरमा माटो, माटोको भरमा ढुङ्गा रहे जस्तै सोताङ, कुलुङ र पिल्मो आपसमा एकअर्काको सहारा भएर अघि बढ्नु आवश्यकता रहेको छ । तर, कुलुङको नुनपानी खाएर सोताङ र पिल्मोङको अस्तित्व समाप्त गर्ने अभियानमा लागेको
देखिन्छ 'टिप्पणीकार' निनाम ।
निनामको टिप्पणी पढ्दा लाग्छ- निनाम आफैलाई आफ्नो इतिहासको जरो थाहा छैन । सोताङ र पिल्मोङ भनेको कुलुङको हाँगा हो भन्ने शब्द रटान दिनुबाहेक उनले अरू केही जानेको देखिँदैन । सोताङले सोताङ, कुलुङले कुलुङ र पिल्मोङले पिल्मोङ भएर
आआफ्नो अस्तित्व संरक्षण गर्नुपर्छ भन्नु उनका लागि अपराध हो । तर, त्यसको कुनै तार्किक आधार उनीसँग देखिँदैन ।
उनी राज्यमा शक्ति प्रदर्शन गर्न धेरै संख्या र भीड देखाउनुपर्ने भएकोले 'राईवादीहरू'लाई राई एकता आवश्यक भएको आरोप टिप्पणीकारले पटकपटक लगाएका छन् । उनको भनाइबाट कस्तो अर्थ लाग्छ भने राईहरू यसरी एक हुनु हुँदैन बरु आपसमा
विभाजित भएर ससानो प्रभावहीन जातीय समूह बन्नुपर्छ; बहुमत भएर राज्य सञ्चालन गर्ने हैसियत बनाउनु हुँदैन बरु अल्पसङ्ख्यक भएर अरूको हेपाइ खाएर बस्नुपर्छ । छँदाखाँदाको बहुसङ्ख्यक जनसङ्ख्यालाई अल्पसङ्ख्यक बनाउन खोज्नु भनेको अरूको
निगाहमा रमाउन खोज्नुसरह हो ।
तर यी 'टिप्पणीकार'लाई तार्किक बहसभन्दा पनि तथानाम गाली गर्नुमा रमाइलो लाग्छ । गालीगलोजको खेती गर्न रमाउने टिप्पणीकारको वास्तविक परिचय के हो ? टिप्पणीमा देखिएको परिचय चाहिँ निनाम लोवात्ती मंगले हो । खाँटी कुलुङ हुँ भनेर फुरफुर गर्ने उनी कुलुङ हुन् कि पिल्मो ? स्पष्ट छैन । किनभने, 'लोवात्ती' भनेको कुलुङको ताम्सी र छेम्सी दुवै वंशमा पर्दैन, बरु पिल्मोङ राईभित्र पर्ने वंश हो । अनि सोताङ, पिल्मोङ र कुलुङ अलग-अलग अस्तित्व बोकेको राई जाति हुन् ।
पिल्मोङ समुदायले लोवात्तीलाई सृष्टिमा माइलो सन्तानका रूपमा जन्मिएको मान्दछन् । तीनवटा चुलोढुङ्गाको पूजामा पिल्मोङले सुँगुरको खुट्टा छोर्सा पोल्छ भने कुलुङले पोल्नु हुँदैन । ज्वाइँचेलालाई कुलुङले आफ्नो चुलोमा पकाएको कुखुराको मासु खान दिंदैन र कुलुङले ससुराली घरमा पकाएको कुखुराको मासु खान हुँदैन । पिल्मो समुदायमा यस्तो संस्कृति छैन । यसरी कुलुङ र पिल्मोङबीच सांस्कृतिक रूपमा भिन्नता देखिन्छ ।
अर्को कुरा, कुलुङ भूमिमा बसोबास गरेका दुई दाजुभाइ ताम्सी र छेम्सीका सन्तानहरू नै कालान्तरमा भूमिको नामबाट कुलुङ भएर चिनिए । ती कुलुङहरूको सोताङ र पिल्मोङसँग किपटीय साँध जोडिएको साइनोबाहेक अरू कुनै नाता गाँसिएको देखिँदैन
। आफूलाई खाँटी कुलुङ भएको दाबी गर्ने लोवातीजीले अन्तिममा आफूलाई पिल्मोङको सन्तान भन्नुपर्ने त होइन ? यसको केही आधार पनि फेला परेको छ ।
तेह्रथुम कोयाखोलाबाट सुनसरी बसाइँ सरेका एकजना सुर्बा पिल्मोङसँग भेट हुँदा पुर्खाको इतिहास सुनाउँदै मलाई भन्नुभएको थियो- "उनको पुर्खा पिल्मो राई जातिको किपट देतेलबाट एउटा छोरा र परिवार साथमा लिएर स्थायी बसोबास गर्न दार्जिलिङ बसाइँ हिँडेका थिए ।
तेह्रथुमको कोयाखोला पुग्दा महामारी रोगले भेटेर बाबु-आमाको मृत्यु भएछ । बाबु-आमाको मृत्युपछि टुहुरोलाई लोवात्तीले पालन-पोषण गरेर हुर्काएछ । लोवात्ती परिवारमा सुर्बा थरको टुहुरो हुर्कियो र छोरोसरह भएर आफ्नो खुट्टामा उभिन सक्ने भयो । वयस्क उमेर भएपछि 'तिमी सुर्बा हो' भनेर लोवात्तीले सुनाइराखेछ । लोवात्तीको घरमा हुर्किएको टुहुरोका सन्तानहरू सुर्बा भएर विभिन्न स्थानमा छरिएर बसोबास गरिरहेका छन् । हुर्काए बढाए पनि लोवात्तीले सुर्बालाई आफ्नो सन्तानसरह अंश दिएन ।"
सुर्बाका सन्तान अहिले सुनसरी र मोरङ जिल्लालगायत विभिन्न स्थानमा छरिएर बसोबास गरिरहेको बताइन्छ । लोवात्तीको सन्तान हुँ भन्दै हिँड्ने निनाम पनि सुर्बाको सन्तानमध्ये एक हो कि भनेर शंका गर्नुपर्ने देखिन्छ । किनभने, सुनसरी जिल्लाको विभिन्न ठाउँमा छरिएर बसोबास गरिरहेका सुर्बाहरूले 'कोयाखोलामा आफ्नो सुर्बा दाजुभाइहरू रहेको' बताउने गर्दछन् ।
एउटै वंशका दाजुभाइमध्ये अरूले सुर्बा भन्ने गरेका छन् भने निनाम चाहिँ कसरी लोवात्ती हुन पुगे ? एउटै वंशका कोही सुर्बा र कोही लोवात्ती हुनुपर्ने कारण के रहेछ ? थर र नाम दुवै नक्कली हुन सक्ने देखिएको 'निनाम लोवाती मङ्गले'को सक्कली परिचय
उजागर हुने समय धेरै कुर्न नपर्ला । किनभने वास्तविकता सधैं लुकेर बस्न सक्दैन ।