Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    ६ वर्षीय मुटु रोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइए

    ६ वर्षीय मुटु रोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइए


    • शनिवार, पौष १० २०७८

    • नेपाल वाइड


    ६ वर्षीय मुटु रोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइए
    मुटुको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्‍याइएकी ६ वर्षीय सिर्जना पौडेल । तस्बिर सौजन्य : बाजिन्द्र बिष्ट

    खोटाङ, १० पुस । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी ६ वर्षीय मुटु रोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ । अतिविपन्न परिवारकी मुटु रोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठ्माण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुर्‍याइएको हो ।

    बालिकाको मुटुमा दुई वटा प्वाल भएकाले शल्यक्रीया गर्नुपर्ने देखिएको ‘मुटु रोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।

    ज्वरोको समस्याले थलिएपछि गत २८ असारमा नोबेल अस्पताल बिराटनगर पुर्‍याइएपछि बालिकालाई मुटुको रोग भएको पूष्टि भएको हो ।

    आफ्नो घर जग्गा नभएका तथा छाप्रो बनाएर बसिरहेका पौडेल परिवारकी बालिकालाई आफन्त तथा शुभेच्छुकबाट संकलन गरिएको ४० हजार खर्चमा बिराटनगर लगिएको थियो ।

    सिर्जनाको मुटुको तत्काल शल्यक्रीया गर्नुपर्ने देखिए पनि उमेर अनुसार तौल नहुँदा तीन महिनापछि शल्यक्रीया गर्ने तयारी गरिएको छ । उनको तौल हाल साँढे १२ केजी मात्र छ ।

    सिर्जनाको बुवाको मृत्यु भइसकेको छ । उनलाई फरक क्षमता भएकी (लाटी) आमा बिमला पौडेल र १३ वर्षकी दिदि रिताले लालनपालन गर्दैआएका छन् । भारी बोकेर र अरुको जग्गामा अधिया गरेर पौडेल परिवारको जिवीको चल्दैआएको छ ।

    मुटु रोगी बालिकाको उपचार गर्ने आर्थिक अवस्था नभएकाले सहयोग अभियान सञ्चालन गर्नु परेको अभियान्ता बिष्टले बताए । बालिकालाई उपचारका लागि ३ पुसमा काठ्माण्डौं लगिएको हो ।

    हालसम्म विष्टको पहलमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक तथा सहयोगीबाट ८६ हजार ४०० रुपैयाँ संकलन भइसकेको छ । यस्तै, जापानमा रहेकी सरला कोईरालाको पहलमा ३७ हजार ५९५ रुपैयाँ प्राप्त भएको छ ।

    मुटु रोगी बालिकाको सहयोगार्थ सहयोग अभियान जारी रहेको बिष्टले बताए । ‘मुटु रोगी सिर्जना परिवारको आर्थिक अवस्था कमजोर छ । उनीहरु अतिविपन्न छन् । भारी बोकेर, अर्काको जग्गामा अधिया गरेर खान्छन् ।

    छाप्रोमा बस्छन्,’ बिष्टले भने, ‘सहयोग उठाएर अस्पताल पुर्‍याइएको छ । कहिले अप्रेसन हुने, कति खर्च लाग्ने टुंगो नभएकाले सहयोग उठाउने अभियान जारी राखेका छौँ ।’

    ‘ज्वरोदेखि निमोनिया हुँदासम्म पनि अस्पताल लैजानुपर्छ’ भन्ने चेतनाको अभावमा सिर्जनालाई ढिलागरी प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा लगिएको थियो ।

    अवस्था गम्भीर बन्दै गएपछि आफन्तले स्वास्थ्य संस्था लैजान सुझाव दिएपछि मात्र सिर्जनालाई स्वास्थ्य संस्था पुर्‍याइएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गरेपछि बालिकालाई बिराटनगर लगिएको थियो ।

    सिर्जनालाई बिराटनगर पठाउने क्रममा जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले ५ हजार सहयोग गर्नुका साथै एम्बूलेन्समार्फत बंशिलाघाटसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाएका थिए ।

    सम्बन्धित समाचार