Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोटाङ फुटबल एकेडेमीलाई बिराटनगर सिटी फुटबल क्लवको खेल सामग्री

    खोटाङ फुटबल एकेडेमीलाई बिराटनगर सिटी फुटबल क्लवको खेल सामग्री


    • शुक्रवार, पौष ९ २०७८

    • नेपाल वाइड


    खोटाङ फुटबल एकेडेमीलाई बिराटनगर सिटी फुटबल क्लवको खेल सामग्री
    बिराटनगर सिटी फुटबल क्लवले उपलव्ध गराएको जर्सी खेलाडीलाई हस्तान्तण गरिँदै ।

    खोटाङ, पुस ९ । बिराटनगर सिटी फुटबल क्लव (बिसिएफसि)ले खोटाङ फुटबल एकेडेमी (केएफए)लाई खेल सामग्री प्रदान गरेको छ । ‘सवैका लागि फुटबल’ भन्ने नारा सहित २०७३ सालदेखि विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको केएफएलाई एक लाख बराबरको खेल सामग्री प्रदान गरेको हो ।

    शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित कार्यक्रममा बिराटनगर सिटी फुटबल क्लवका सिइओ सुवाशिस लाला कोईरालाले फुटबल, जाली, कोण, ल्याडर, सालोमोन पोल, प्यारासुट, हडल्स प्रो, सालोमोन बेस, मार्कर कोण, जर्सी लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । बिसिएफसिले प्रशिक्षणमा सहभागी ४० जना खेलाडीलाई जर्सी उपलव्ध गराएको खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

    जिल्लामा फुटबलको व्यवसायी विकासको प्रयत्नमा जुटेको केएफएको प्रोत्साहनमा बिसिएफसिले (ए) डिभिजनका फुटबल क्लवले उपयोग गर्ने खेल सामग्री उपलव्ध गराएको हो । प्राप्त भएको जर्सी जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राई, केएफएका अध्यक्ष नूरकाजी शैंजू र बिसिएफसिका सिइओ कोईरालाले प्रशिक्षार्थीलाई हस्तान्तरण गरेका थिए ।

    sport 3.jpg

    बिराटनगर सिटी फुटबल क्लवले उपलव्ध गराएको जर्सी सहित केएफएका खेलाडीहरु ।

    केएफएले शनिबार बाहेक हप्ताको ६ दिन दिक्तेलको माटिकोरे खेलमैदानमा फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको छ । हालसम्म जिल्लाका ९०० किशोर किशोरीलाई प्रशिक्षण दिँदा पाँच सयको हाराहारीमा खेलाडी उत्पादन भएको प्रशिक्षक श्रेष्ठले बताए ।

    “हामीले आठदेखि नौ सय जनालाई फुटबलको प्रशिक्षण दियौँ । त्यसमध्ये साँढे चार सयदेखि पाँच सय खेलाडी उत्पादन गर्न सफल भएका छौँ,” श्रेष्ठले भने, “हामीले उत्पादन गरेका कतिपय खेलाडी जिल्लाकै विभिन्न क्लवबाट खेल्छन् । कतिपय खेलाडीहरु जिल्ला बाहिरका क्ल्वबाट खेलिरहेका छन् ।”

    हाल केएफएमा विभिन्न उमेर समुहका ७० जना खेलाडी नियमित प्रशिक्षणमा छन् । सहभागी खेलाडीलाई श्रेष्ठले बिहान साँढे पाँचदेखि साँढे सात बजेसम्म प्रशिक्षण दिने गरेका छन् । सन् २००७ मा अष्ट्रेलिया पुगेका श्रेष्ठ सन् २०१३ मा घर फर्किएर स्वयंसेवी प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् ।

    फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ २०७३ सालमा स्थापना गरिएको केएफएको पहलमा दिक्तेलको माटिकोरे खेलमैदानमा करिब सात हजार दर्शक अट्ने दिक्तेल रंगशाला निर्माणको काम अघि बढेको छ ।

    रंगशालाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २७ मंसिरमा ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ । केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने जिम्मा लिएको जनाएको छ ।

    सम्बन्धित समाचार