बिहिवार, मंसिर २३ २०७८
नेपाल वाइड
खोटाङ, २३ मंसिर । प्रसुती व्यथाका कारण गम्भीर बनेकी खोटाङकी एक गर्भवतीलाई हेलीकोप्टरबाट अस्पताल लगिएको छ । उच्च रक्तचाप र कम्पनको समस्याका कारण स्वास्थ्य अवस्था गम्भीर भएकी खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीय मेनुका बिष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरि हेलीकोप्टरमार्फत अस्पताल लगिएको हो ।
प्रसुती व्यथा सुरु भएपछि बुधबार राती स्वास्थ्यचौकी सावाकटहरेमा भर्ना भएकी विष्टलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट बिहिबार प्रसुतीगृह थापाथली पठाइएको हो ।
प्रसुती व्यथाका कारण स्वास्थ्यमा थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लैजाने व्यवस्थाका लागि जिल्ला अस्पतालको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत हेलीकोप्टर झिकाएर उद्धार गरिएको स्वास्थ्यचौकी सावाकटहरेका प्रमुख अहेव रामकुमार मग्रातीले बताए ।
जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो ।
प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव बेदनाले छट्पटिरहेका गर्भवतीको उद्धारका लागि हेलीकोप्टर पठाएको हो ।
स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्याथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौं गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।