बिहिवार, मंसिर २३ २०७८
नेपाल वाइड
खोटाङ, २३ मंसिर । भारतको मेघालयमा कोईला खादमा कोईला काट्नेक्रममा तालले थिचिएर गम्भीर घाईते भएका खोटाङका एक स्थानीयको उपचारमा समस्या भएको छ ।
कोईला खादमा कोईला काट्नेक्रममा भत्किएको तालले थिचेर गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ४१ वर्षीय बलराम राईको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
कोईला खादमा तालले चिथिएर गम्भीर घाईते भएका राईको आर्थिक अभावका कारण तीन हप्ता वित्दा समेत प्रभावकारी उपचार हुन नसकेको स्थानीय नारायण राईले बताए ।
२०७६ सालमा कोईला खाद पुगेका राई गत २ मंसिरमा कोईला खादभित्रै थिचिएका थिए । कोईलाखादभित्र खसेको भित्ताले थिचिएका उनको ढाड र दाहिने हात भाँचिएको छ ।
उनलाई मेघालयमै रहेका नेपालीले चन्दा उठाएर केही अस्पताल पुर्याएका थिए । तर, खर्चले धान्न सक्ने अवस्था नभएपछि उनी १७ मंसिरमा काठ्माण्डौं पठाइएका छन् । हाल उनको अपांग अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।
तर, आर्थिक अभावका कारण उनको थप उपचार प्रकृया अघि बढ्न नसकेको राईले बताए । उनको कम्मरमुनिको भाग चल्दैन । उनी दिसापिसाव गएको समेत थाहा नपाउने अवस्थामा छन् । ढाडको उपचारका लागि अन्यत्र लैजान भनिएको आफन्तले बताएका छन् ।
घाईते बलरामको घरमा श्रीमती सहित तीन छोरी र तीन छोरा छन् । उनीहरु बनिबुतो गरेर जीवनयापन गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण काखको बाहेक अरु वालबच्चा फुपु र मावली घरमा सघाउँदै बसिरहेका छन् ।
कमाउनका लागि परदेसिएका घरमुली गम्भीर घाईते भएर फर्किएपछि परिवारको थप विचल्नी भएको छ । घाईते बलरामको उपचारका लागि गाउँमा आर्थिक सहयोग संकलन अभियान थालिएको राईले जानकारी दिए ।
सो क्षेत्रका सयौं स्थानीय रोजगारीका सिलसिलामा मेघालयमा पुग्ने गरेका छन् । कोईलाखादमा कोईला काट्नेक्रममा कतिपयका थिचिएर मृत्यु हुने गरेको छ भने कतिपय घाईते तथा अपांग बनेर फर्कने गरेका छन् ।