Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    हलेसी तुवाचुङमा चाम्लिङ भाषा श्रोत शिक्षक नियुक्त

    हलेसी तुवाचुङमा चाम्लिङ भाषा श्रोत शिक्षक नियुक्त


    • सोमवार, मंसिर २० २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङमा चाम्लिङ भाषा श्रोत शिक्षक नियुक्त
    फायल तस्बिर

    खोटाङ, २० मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक) नियुक्ती गरिएको छ । चाम्लिङ भाषाको पठन–पाठनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एक जना नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक) नियुक्ती गरिएको हो ।

    चाम्लिङ भाषाको पठन–पाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलव्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको थियो । १८ मंसिरमा सञ्चालन भएको शिक्षक छनौट परिक्षाबाट चाम्लिङ भाषी संगीता राई छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले बताए ।

    नगर शिक्षा समितिको ११ कात्तिकको निर्णय अनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकका रुपमा कामकाज गर्नका लागि व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आव्हान गरेको थियो ।

    मासिक १३ हजार ५ सय तलव सुविधा पाउने नियुक्ती पाएकी राईले चाम्लिङ लगायत अन्य भाषामा पनि पठन–पाठन गर्नुपर्ने विव्यासले जनाएको छ ।

    विद्यालयले माग गरेको आधारमा नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरबन्दी सिर्जना गरिएको मेयर इवन राईले बताए । चाम्लिङ भाषा श्रोत शिक्षक राई कांग्रेसको नगर कार्यपालिकाको कान्छी सदस्य पनि हुन् ।

    हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन सञ्चालन हुँदैआएको छ ।

    धितुङमा बुलापन्थे माबिमा कक्षा ५ सम्म, सुर्यज्योती आविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म, दलित जनजारण प्राबिमा कक्षा ५ सम्म, जनकल्या प्राबि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म र पारुहाङशरण प्राबिमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठन–पाठन हुँदैआएको छ ।

    chamling teacher at dhitung (appointed) photo_khotang.jpg

    सर्वावती प्राबिमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातीका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका बुलापन्थे माबिका शिक्षक रकम रोदुङले बताए । चाम्लिङ राईको बाहुल्यता रहेको विद्यालयमा सोही भाषाको कक्षा सञ्चालनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा दुई लाख बजेट बिनियोजन गरेको थियो ।

    धितुङमा चाम्लिङ भाषाको संरक्षण र संवद्र्धनका लागि तत्कालिन गाबिसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलव्ध गराउनेगरी चाम्लिङ भाषामा पठन–पाठन सुरु गरिएको थियो ।

    शिक्षकको सरुवा हुँदा सुर्यज्योती आविमा दुई/तीन वर्ष चाम्लिङ भाषाको पठन–पाठन अवरुद्ध नै भएको थियो । हाल भने सो विद्यालयमा पनि चाम्लिङ भाषाको पठन–पाठन निरन्तर भइरहेको छ ।

    चाम्लिङ राई भाषा पढाउने शिक्षकका लागि स्थानीय तह कार्यान्वयनमा आउन अगाडि एक आर्थिक वर्ष तत्कालिन शिक्षक खम्बराज राई (हाल, प्रमुख प्रशासकीय अधिकृत, बागमती गाउँपालिका, ललितपुर)को पहलमा किरात राई यायोक्खा प्रारम्भिक कमिटिमार्फत एक लाख बजेट व्यवस्था गरिएको थियो । धितुङमा चाम्लिङ राई भाषा पढाउने शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको त्यो नै सबैभन्दा ठूलो रकम थियो ।

    सम्बन्धित समाचार